अस्टिनमा नेपाली समुदाय र कूटनीतिक अधिकारीहरूबीच अन्तरक्रिया कार्यक्रम हुँदै
नारायण भण्डारी । अस्टिन । ग्रेटर अस्टिन नेपाली सोसाइटीको आयोजनामा अमेरिकास्थित नेपाली राजदूतावास तथा टेक्ससको डालासस्थित नेपाली महावाणिज्य दूतावासका अधिकारीहरू र अस्टिनमा बसोबास गर्ने नेपाली समुदायबीच आगामी नोभेम्बर २२ गते आइतबार अन्तरक्रियात्मक कार्यक्रम आयोजना हुने भएको छ।
ग्रेटर अस्टिन नेपाली सोसाइटीका अनुसार कार्यक्रम संस्थाको कम्युनिटी सेन्टरमा दिउँसो ३ बजे सञ्चालन हुनेछ।
कार्यक्रममा अमेरिकास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत शरदराज आरण, डालासस्थित नेपाली महावाणिज्य दूतावासका प्रमुख शुरेश अधिकारीलगायत अन्य अधिकारी तथा कर्मचारीहरूको सहभागिता रहनेछ। त्यसैगरी, ग्रेटर अस्टिन क्षेत्रमा बसोबास गर्ने नेपाली व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, बुद्धिजीवी तथा स्थानीय नेपाली समुदायका सदस्यहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाली समुदायका चासो, समस्या तथा सरोकारसँग सम्बन्धित विभिन्न विषयमा प्रत्यक्ष संवाद र छलफल गरिनेछ। यसले नेपाली समुदाय र नेपाली कूटनीतिक नियोगका अधिकारीहरूबीच आपसी सम्बन्ध, सहकार्य र संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

