दुई पूर्वमन्त्री र पूर्वसचिवसहित छ जना पक्राउ
काठमाडौँ । नेपाल र मलेसियाबीचको श्रमसम्बन्धी समझदारी विपरीत श्रमिकबाट उठाइएको रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा प्रहरीले दुई पूर्वश्रममन्त्रीसहित छ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वमन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद के.सी.सहित छ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्य तीन जनामा मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय सहसचिव उमेश ढुंगाना र राजीव पोखरेल तथा सोही महाशाखाकी तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ छन् । काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर उनीहरूलाई मंसिर २ गते काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा सीआईबीले कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगी तथा संगठीत अपराधसम्बन्धी कसुरको अनुसन्धान गरिरहेको छ ।
ब्युरोका अनुसार श्रमिकबाट गैरकानुनी रूपमा उठाइएको रकममध्ये अमेरिकी डलर र बेलायती पाउन्ड गरी १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबरको विदेशी मुद्रा मलेसिया पठाउने निर्णय गरिएको आरोप छ ।
नेपाल र मलेसियाबीचको समझदारी तथा कानुनी प्रक्रियाविपरीत आफ्नो अधिकार क्षेत्र नाघेर रकम पठाउने निर्णयमा उनीहरू संलग्न रहेको सीआईबीको आरोप छ । श्रमिकबाट रकम उठाइएको विषयमा कानुनी कारबाही अघि नबढाई संगठीत समूहलाई लाभ पुग्ने गरी निर्णय गरेको आरोपमा पक्राउ परेका छ जनामाथि अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

