ब्रेकिङ न्युज

प्रधानमन्त्री बालेन आइतबार मध्याह्न १ बजेर ४५ मिनेटमा भारत प्रस्थान गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह आइतवार भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री साह मंसिर ६ र ७ गते भारत भ्रमणमा जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत भ्रमणबारे जानकारी दिएका हुन् । उनका अनुसार प्रधानमन्त्री साह मंसिर ६ गते आइतवार मध्याह्न १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवाको नियमित उडानबाट भारत प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनेछन् । सचिव राईका अनुसार सरकारी भ्रमण टोली ३४ सदस्यीय हुनेछ ।

त्यस्तै, निजी क्षेत्रका ५२ जना व्यवसायी आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन् । भ्रमणको समाचार संकलनका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकार पनि निजी खर्चमा भारत जानेछन् । नयाँदिल्लीस्थित नेपाली राजदूतावासका राजदूतसहित केही सदस्य पनि भ्रमण टोलीमा थपिनेछन् ।

भ्रमणका क्रममा मंसिर ७ गते प्रधानमन्त्री साह र भारतीय प्रधानमन्त्री मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तामा दुई देशबीचको आर्थिक सम्बन्ध र आपसी सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सचिव राईका अनुसार भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ ।

नेपालका लागि भारत महत्वपूर्ण साझेदार राष्ट्र रहेको उल्लेख गर्दै राईले व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार तथा सम्पर्क सञ्जालका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा दुवै देशका नेतृत्वबीच छलफल हुने बताए ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

प्रधानमन्त्री साहको भारत भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउनुका साथै आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम