१० कार्तिक २०८२, सोमबार
Follow Us

अमेरिका जान हिँडेका चार जना नेपालीको टोगोमा उद्धार

nepalbritain news
१९ चैत्र २०७४, सोमबार ०५:०५

मानव तस्करले अमेरिका लैजाने भनी पश्चिमी अफ्रिकी मुलुक टोगो पुर्याएर अलपत्र पारेका बागलुङका ४ जना सहित ६ जना नेपालीको उद्धार गरिएको छ। जनही २५ देखि ३५ लाख रुपैयाँसम्म मानव तस्करलाई बुझाएर अमेरिका हिँडेका उनीहरु ११ महिनापछि नेपाल फर्काइएका हुन्।
मानव तस्करले उनीहरुलाई २ महिना दिल्ली, ३ महिना थाइल्यान्ड र ६ महिनादेखि टोगोमा राखेका थिए। उद्धार गरिएकाहरुमा बागलुङका महेश्वर आचार्य, कमलबहादुर घर्ती, मनबहादुर श्रीस पुन, अशोक पौडेल तथा सिन्धुपाल्चोकका जीवन श्रेष्ठ र सोनाम छिरी शेर्पा छन्।उनीहरूका साथमा राहदानी र अरु कागजात समेत नरहेको एवं घरफिर्ती टिकटका लागि खर्च समेत नभएको अवस्थामा टोगोस्थित गैरआवासीय नेपालीको समन्वयमा नेपाल फिर्ता गरिएको हो। ६ महिनादेखि टोगोमा अलपत्र परेका उनीहरुले चैतको पहिलो साता नेपालमा रहेका परिवारमार्फत् उद्धारका लागि पहल गरिदिन आग्रह गरेका थिए। उद्धारका लागि परराष्ट्र मन्त्रालय एवं गैरआवासीय नेपाली संघमार्फत् पहल भएकाे थियाे।
नाइजेरिया बसोबास गर्ने गैरअावासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले उद्धारको पहल गरेका थिए। राहादानी र अावश्यक कागजात समेत नभएकाे अवस्थाबाट उद्धार गर्न सफल भएकोमा थापाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, दक्षिण फ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राई, विष्णु गौतम, एनआरएनए सचिव डीपी क्षेत्र एवं एनआरएनए नाइजेरियालाई धन्यवाद दिएका छन्।
-ढोरपाटन दैनिकबाट ।

धेरै पढिएको