१६ असार २०८३, मंगलवार
Follow Us

चरिरहेका ५२ भेडा चट्याङको सिकार

nepalbritain news
१० माघ २०७५, बिहीबार ०१:२९

बाजुरा । चट्याङ लागेर बुधबार बाजुरामा ५२ भेडा मरेका छन्। जिल्लाको बडिमालिका नगरपालिका–७ चुथीको जङ्गलमा चराउन लगिरहेका बेला परेको चट्याङ लागेर एकै दिन ५२ भेडा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएकोे छ।

भेडा बूढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीका रहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए। चुथीको जङ्गलमा एकै साथ चरिरहेका १२३ वटा भेडामध्ये चट्याङ लागेर ५२ भेडा घटनास्थलमा नै मरेको प्रमुख भाटको भनाइ छ।

चट्याङ मङ्गलबार साँझपख परेको भए पनि अत्यधिक हिमपात र वर्षाका कारण प्रहरी प्रतिवेदनसहित घटना अध्ययन प्रतिवेदन बुधबार मात्र तयार पारिएको उनले जानकारी दिए। साझेदारीमा व्यवसाय सञ्चालन गरेका रोकाया र धामीको चट्याङका कारण करीब पाँच लाखभन्दा बढीको क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। लेकाली भेगमा चिसो हुने भएपछि उनीहरुले चरिचरनका लागि भेडा चुथी ल्याएका थिए। ब्याउने सहितका भेडा भएकाले ठूलो मात्रामा नोक्सानी भएको उनीहरुको भनाइ छ।

त्यस्तै चट्याङकै कारण रेडियो बार्जुको स्टेशनमा पनि ठूलो क्षति भएको छ। रेडियोमा रहेको ट्रान्समिटर, मिक्चर, दुई थान कम्प्युटरसहितका मेशिनरी सामानमा क्षति भएको सञ्चालक समिति अध्यक्ष माया शाहले बताए। ट्रान्समिटर नै जलेका कारण रेडियोको प्रसारण सेवा पनि बन्द भएको छ। चट्याङकै कारण त्रिवेणी नगरपालिकामा पनि एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ।
रासस

धेरै पढिएको