ताजा खबर

पैदलयात्रीका लागि भत्केको पुलनजिकै फलामे पुल निर्माण गरिने

काठमाडौं वडा नं. ५ र ७ जोड्ने भत्केको पुलमा सवारी र यात्रुको चाप बढेपछि छुट्टै फलामे पुल निर्माण गरिने भएको छ । पैदल यात्रीहरुको आवत–जावतका लागि प्रदेश सरकारको परियोजनाअन्तर्गत भत्केको पुलसँगै फलामे पुल निर्माण गर्न लागिएको हो ।

शनिबार बिहान एक कार्यक्रमका बीच नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३, निर्वाचन क्षेत्र नं. ५ (१) का सांसद नारायण शिलवालले फलामे पुल निर्माण योजनाको शिलान्यास गरे । ‘सवारीको चाप बढेको र पैदलयात्रीमा दुर्घटनाको जोखिम बढेकाले फलामे पुल निर्माण गर्नुपरेको हो,’ सांसद सिलवालले भने, ‘पुल निर्माणको जिम्मा लिएको उपभोक्ता समितिले समयमै सम्पन्न गर्ने गरी गुणस्तरीय काम गर्नुपर्छ ।’ पुल निर्माणका लागि प्रदेश सरकारको परियोजनाअन्तर्गत ४९ लाख रुपैयाँ बजेट परेको छ । ०७६ साल असारभित्र पुल निर्माणको काम सम्पन्न हुनेछ ।
पहेँलो पुल उपभोक्ता समितिकी अध्यक्ष धनमाया थापाले पुल निर्माणको काम समयमै सम्पन्न गर्ने र गुणस्तरमा विशेष ध्यान दिने प्रतिबद्धता जनाइन् ।
पुल शिलान्यास कार्यक्रममा कामपा– ७ का वडाअध्यक्ष शुद्ध डंगोल, कामपा–५ का रमेश डंगोल, वडासदस्यहरु उत्तम शर्मा, मीना सिंह, सुमन न्यौपाने, नेकपाका नेता गणेश श्रेष्ठ, वीरेन्द्र प्रजापति, सुशीलाई प्रजापतिलगायतको उपस्थिति थियो ।

प्रदेश सांसद सिलवालको विशेष पहलमा धनगणेश मन्दिर, गोरखनाथ मठ सतल, मनमानेश्वरी मन्दिर, कुमार कार्तिके मन्दिर, द्योछें सतलको पुनर्निर्माण तथा धेविखोला कोरिडोर र सडक बत्ती निर्माण अघि बढाइएको छ ।

About the author
nepalbritain news

nepalbritain news