काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले सीमा विवादबारे छलफल र संसदीय अनुगमन समिति गठनको प्रस्ताव गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेका छन् ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत मुलुकका विभिन्न स्थानमा मिचिएका सीमाबारे छलफल गर्न नेकपा सांसद रामकुमारी झाँक्रीको समर्थनमा नेकपाकै सांसद खगराज अधिकारीले संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।
नेपालको पश्चिमात्तोर सिमाना लिम्पियाधुरा, लिपुलेक र कालापानी भू–भाग समेटेर भारतले आफ्नो मुलुकको राजनीतिक नक्सा सार्वजनिक गरेपछि उत्पन्न विवाद अझै साम्य भएको छैन ।
सीमा विवाद जारी रहँदै गर्दा कालापानीलगायतका क्षेत्रको सीमा विवादमा सरकारले अघि बढाएको पहललाई थप बलियो र सर्वस्वीकार्यरुपमा अघि बढाउन संकल्प प्रस्ताव दर्ता गरिएको हो । संकल्प प्रस्तावमा नेपालको भूमिमा रहेका विदेशी सैनिक फिर्ता र मिचिएको भू–भाग फिर्ता गर्नका लागि सरकारबाट ठोस पहलकदमी हुनुपर्ने उल्लेख छ ।