काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला दुई जना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आज छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् । पार्टी स्थापना दिवसको अवसरमा जारी गरिएका विज्ञप्तिमा दुबैले पार्टी भित्रको विवादलाई सांकेतिक रुपमा उठाएका छन् भने पार्टी एकता अझै सुदृढ गर्न अपील पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले संसदीय दल वा पार्टीको केन्द्रीय समिति मध्ये एकमा ४० प्रतिशत पुगे पार्टी विभाजन गर्न सकिने अध्यादेश पार्टीमा छलफल नै नगरी ल्याएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।
विज्ञप्तिमा दाहाललाई लक्षित गर्दै ओलीले सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरंकुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको बताएका छन् ।
अर्का अध्यक्ष दाहालले भने ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको भन्दै ओलीप्रति कटाक्ष गरेका छन् । प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
दाहालले पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् मात्र पार्टी एकतालाई थप सुदृढ बनाउन सकिने भनेका छन् ।