बेलायतमा कोरोनाविरुद्धको खोप परीक्षण सुरु
लन्डन । कोरोना भाइरसविरुद्धको सम्भावित खोपको मानवीय परीक्षण बेलायतमा शुरु भएको छ । सम्भावित खोपको परीक्षण पहिलो पटक अक्सफोर्डमा शुरु भएको हो । खोप परीक्षणका लागि स्वतन्त्र रुपमा तयार भएका दुई जनालाई दिइएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
खोप परीक्षणका लागि ८०० भन्दा बढी मानिसले आफ्नो नाम लेखाएका छन् । त्यसमध्ये आधालाई कोरोना भाइरस विरुद्धको खोप दिइने र बाँकीलाई मेनेनजाइटिसविरुद्धको खोप दिइने बताइएको छ । खोपले कोरोना भाइरसलाई नियन्त्रण गर्ने विश्वास वैज्ञानिकहरुले गरेका छन् ।
पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप लगाउने दुई जना मध्येकी एक एलिसा ग्रानाटोले आफू पनि वैज्ञानिक भएकाले वैज्ञानिक कार्यमा सहयोग पुर्याउने उद्देश्यले खोप लगाउने निर्णय गरेको बताएकी छन् ।
अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्राध्यापक सारा गिल्बर्ट नेतृत्वको टोलीले तीन महिना भित्रै निर्माण गरेको खोप मानवीय परीक्षणमा गएको हो । प्राध्यापक साराले खोपले कोरोना भाइरस नियन्त्रण गर्नेमा आफू आशावादी रहेको बताएकी छन् ।

