काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पुनःउत्थानसहित लोकतन्त्र र अर्थतन्त्रलाई पुनःसंरचना तथा सत्तापक्ष र प्रतिपक्षको भूमिकालाई नयाँ मान्यताका साथ अघि बढाउन आवश्यक रहेकामा जोड दिनुभयो । सामाजिक सञ्जालमा हेर्न र सुन्न नसकिने खालका कुरा पनि आउने गरेका दुःख व्यक्त गर्दै उहाँले प्रतिप्रश्न गर्नुभयो, “हाम्रो संस्कार कस्तो भएर जाँदैछ ? मुख छाडेर नबोली धीतै नमर्ने ?”
प्रधानमन्त्री ओलीले पुराना ज्ञान, शास्त्र, अनुभव र मान्यता महत्वपूर्ण हुने भए पनि पुल बनिसकेपछि जुत्ता खोलेर खोलो तर्र्नुपर्छ भन्ने ज्ञानको पालना गरिरहनु हुँदैन भन्दै संसदीय अभ्यासमा नयाँ अवधारणा अघि सार्न आवश्यक रहेकामा पनि जोड दिनुभयो ।
उहाँले समाजवादोन्मुख गन्तव्य भएको फराकिलो, उचाइयुक्त, व्यापक र जनताको लोकतन्त्रअनुकूल नीति तथा कार्यक्रम अघि सारिएको जनाउँदै गतिशील अर्थतन्त्र र मानव जगत्लाई खुशी पार्ने व्यवस्थाको कार्यान्वयनका लागि सरकार अग्रसर रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारका दूरगामी सोच र स्थिरतामा कुनै अन्योलमा नपर्न आग्रह गर्दै सबै जनताका लागि लोककल्याणकारी राज्यको भावनाका साथ केही पनि खान, लाउन पाएन वा सहारा पाएन भन्ने खालको अशोभनीय र निर्दयी मानव समाज हुन नसक्ने स्पष्ट गर्नुभयो ।
कसैले अन्न थुपारेर राख्ने र कोही बालबालिका वा ज्येष्ठ नागरिक खानेकुराका लागि सडकमा कुकुरसँग लडिरहेको हुने खालको समाज आफूहरुले अन्त्य गर्ने जनाउँदै पछिल्ला दिनमा काठमाडौँ उपत्यकाका सडकमा मागेर हिँड्ने कुनै पनि मानव नरहेको बताउनुभयो ।
उहाँले मुलुकलाई तुइनमुक्त बनाइएको जनाउँदै अब चाँडै साक्षर नेपाल घोषणा गरिने उद्घोष गर्नुभयो । कोरोनाको विनाशलीला कायम रहेका स्थितिमा ठूलाठूला देशलाई समेत ध्वस्त पारेको उल्लेख गर्दै नेपालमा पाइने बेसार, लसुन, प्यास, कागती आदि सेवा गरिरहनु स्वास्थ्यका लागि उपयोगी हुने सन्दर्भ उल्लेख गर्नुभयो ।