६ आश्विन २०८२, सोमबार
Follow Us

मौसम खराबीका कारण राहत बोकेर गएको गृहमन्त्री सवार हेलिकप्टर पाेखरा फर्कियो

nepalbritain news
१८ भाद्र २०७७, बिहीबार ०८:३५

बागलुङ – बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितका लागि राहत लिएर गएको गृहमन्त्री सवार सेनाको हेलिकप्टर मौसम खराबका कारण पोखरा फर्किएको छ।

गृहमन्त्रीसहित बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल सवार हेलिकप्टर राहत लिएर बागलुङको बाढी प्रभावित क्षेत्रमा गएको थियो।

बाग्लुङ्को ढोरपाटनका बाढीपीडितका लागि राहत लिएर गएको हेलिकप्टर स्याङ्जा पुगेपछि मौसम खराब भएकाले पोखरा फर्किएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए। उनका अनुसार मौसम अनुकूल भएपछि हेलिकप्टर पुनःराहत लिएर ढोरपाटन प्रस्थान गर्नेछ। हेलिकप्टरमा दैनिक उपभोग्य सामग्रीसहित तत्कालका लागि आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याटलगायतका राहत सामग्री रहेको जनाइएको छ।

गएराति बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपद्जन्य घटना भएको छ। यहाँको बाटो क्षत्विक्षप्त भएर गाडीसमेत आवागमन हुन सकेको छैन। त्यहाँका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले गाडी जान नसकेपछि थप उद्धार टोलीसहित पैदल नै घटनास्थलतर्फ गइरहेको बताए। प्रहरी र सेनाको टोलीले अहिले उद्धार कार्य जारी राखेका छन्।

उनका अनुसार प्राप्त प्रारम्भिक विवरणमा बाढीबाट यहाँ ३६ जना हराएकामा ११ जनाको शव प्राप्त भएको छ। नगरपालिकाको चार वटा वडामा बढी क्षति भएको उहाँले जानकारी दिए।

रासस

धेरै पढिएको