काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक अपरान्ह चार बजेका लागि बालुवाटारमा बोलाइएको छ । यसअघि आइतवार नै बैठक बस्ने तय भएपनि तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।
बैठकले अर्थमन्त्रीसहित तीन रिक्त मन्त्रालयमा मन्त्री नियुक्तिको प्रधानमन्त्री प्रस्तावमा सहमति दिने सम्भावना रहेको छ । अर्थमन्त्रीको रुपमा ओलीका विश्वासपात्र विष्णु पौडेल नियुक्त हुने अधिक संभावना रहेको पनि स्रोतले जनाएको छ ।
प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउने र बुटवलका नेता एवं पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई अर्थमन्त्री बनाउन सहमति भएको बताइन्छ । यसैगरी रिक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जनार्दन शर्मा र सहरी विकास मन्त्रालयमा सुरेन्द्र पाण्डेलाई नियुक्त गर्न लागिएको बुझिएको छ ।