३ आश्विन २०८२, शुक्रबार
Follow Us

भारतीय हात्तीको आतङ्क

nepalbritain news
२६ आश्विन २०७७, सोमबार ०७:३६

बर्दिया । मधुवन नगरपालिका– ३ धनौरामा भारतीय सीमावर्ती जङ्गलबाट आएको जङ्गली हात्तीले धान खेतमा आतङ्क मच्चाएको छ । भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँ आउने हात्तीले धान काटेर खेतमा सुकाएको सबै धान राति सखाप पारिदिएका छन् ।

मधुवन नगरपालिका– ३ का दिनेश चौधरीले भने, ‘एक दिन घाममा सुकाएर खेतमै थ्रेसरले धान दाउने भनी छोडेका थिएँ, भोलिपल्ट बिहान जाँदा सबै धान एक हुल हात्ती आएर सखाप पारिदिएछ । ‘

हात्तीले दिनदिनै आएर जुनसुकै समयमा धान खान सक्ने भएपछि यन्त्र लगाएरै भए पनि काँचै धान काट्न शुरु गरिएको मधुवन –३ का धनीराम थारुले बताए ।

उनले भने, ‘सीमावर्ती क्षेत्रमा रहेका कृषकको खेतीबाली हरेक वर्ष भारतीय सीमावर्ती जङ्गलबाट आउने हात्तीले क्षति गर्ने भए पनि रोक्न कुनै प्रयास गरिएको छैन ।’

हात्तीले नोक्सानी नगर्ने खालका वैकल्पिक खेतीका लागि अभियानको शुरुआत गरिएको खाता समन्वय समिति बर्दियाका अध्यक्ष बलिराम थारूले बताए।
रासस

धेरै पढिएको