३१ भाद्र २०८२, मंगलवार
Follow Us

अध्यक्ष ओलीले पनि छुट्टै राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने

नेपालब्रिटेन संवाददाता
३ मंसिर २०७७, बुधबार १०:०४

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पनि छुट्टै राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।

पाँच दिनअघि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले एकलरुपमा प्रतिवेदन प्रस्तुत गरेपछि अध्यक्ष ओलीले पनि अलग्गै प्रस्ताव तयार गर्ने भएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष ओलीले आफूले छुट्टै राजनीतिक प्रस्ताव तयार गर्ने भन्दै १० दिनको समय माग गर्नुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो तर्फबाट अर्को प्रस्ताव पेस गर्ने जानकारी गराइएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले संवाददाताहरुसँग भने, ‘गत बैठकमा प्रस्तुत भएको अध्यक्ष प्रचण्डको प्रस्तावसहित सबै सामग्री र अध्यक्ष केपी ओलीको प्रस्तावलाई मंसिर १३ गते बस्ने बैठकमा छलफल गरेर निकास निकालिने छ ।’

पार्टीको संकट निवारणका लागि भन्दै एक घण्टा बसेको सचिवालय बैठक मंसिर १३ गते बस्ने गरी स्थगित भएको हो । सचिवालयले आगामी मंसिर १८ गते स्थायी कमिटी बैठक बोलाउने र मंसिर १५ गतेका लागि तय भएको केन्द्रीय कमिटीको बैठक मंसिर २५ गतेका लागि सार्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

धेरै पढिएको