लन्डन । जर्मन–अमेरिकी कोरोना भाइरस खोपको प्रयोगका निम्ति बेलायतले अनुमति दिएपश्चात् त्यसले युरोपभरि राजनीतिक तरङ्ग उत्पन्न गराएको छ । युरोपेली युनियनका नियामक निकायले खोपबारे अध्ययन गरिरहेको बेला बेलायतले खोपलाई स्वीकृति दिएको हो ।
अमेरिकी फाइजर तथा जर्मन बायोएनटेक कम्पनीको खोपलाई आपत्कालीन प्रयोग अनुमति दिएसँगै आम मानिसमा खोप प्रयोग गर्ने बेलायत पहिलो देश बनेको छ । बेलायतले छिटो अनुमति दिन सक्नुका पछाडि ब्रेक्जीट पनि एउटा कारण भएको बताइएको छ ।
बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले ब्रेक्जीटका कारण बेलायतमा युरोपेली युनियनका अन्य सदस्य राष्ट्रहरूभन्दा चाँडो कोभिड खोपको प्रयोग स्वीकृती दिन सकिएको बताएका छन । हाउस अफ कमन्सका कन्जरभेटिभ नेता जेकब रिज मगले पनि ट्वीट गर्दै ईयू त्यागेकै कारण यति छिटो खोपलाई अनुमति दिन सकेको बताएका छन ।
ईयूका अधिकारीहरूले त्यस्ता भनाइलाई खारेज गर्दै ईयूद्वारा स्थापित संयन्त्र नै बेलायतले पनि पछ्याएको र जुनसुकै सदस्य राष्ट्रले पनि त्यसो गर्नसक्ने बताएको छ । ईयूको नियामक निकायले आफ्नो प्रक्रियामा ढिलाइ हुनुको कारण त्यसमा सामेल कडा सुरक्षा परीक्षणका नियम रहेको जनाएको छ ।