ब्रेकिङ न्युज

प्रधानमन्त्रीमा ओली र देउवाको दावी, राष्ट्रपतिको निर्णय के आउला ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि दाबी पेश गरेका छन् ।

राष्ट्रपतिले प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको बहुमतसहित दावी पेश गर्न दिएको समय सकिएको छ । ओली र देउवाले आ-आफ्नो बहुमत रहेको भन्दै दाबी पेश गरेका छन् । साँझ ५ बजेभित्र दाबी पेश गर्न भनिएकोमा ओली साढे ४ बजे नै बहुमत दाबी गरेर शीतल निवासबाट बाहिरिएका थिए भने देउवा पौने पाँच बजे दाबी पेश गरेर बाहिरिए ।

ओलीले नेकपा एमाले र जसपाका १५३ जना सांसदको समर्थन रहेको दाबी गरेका छन् । जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले पार्टीको समर्थन रहेको ओलीले लिखित पत्र पेश गरेका छन् । त्यस्तै देउवाले कांग्रेस, माओवादी, जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका माधव नेपाल पक्षको समर्थनमा १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।

दुवै पक्षले बहुमत दावी गरेकाले अब राष्ट्रपतिले दुवैले प्रस्तुत गरेको आधार अध्ययन गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए । अब राष्ट्रपतिले देउवा वा ओली कसलाई नियुक्त गर्ने भन्नेमा निर्णय लिनेछिन् ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता