गाउँपालिका अध्यक्षले रक क्लाइम्बिङ गरेपछि…
तनहुँको म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले विमलनगरमा रक क्लाइम्बिङ गर्नुभएको छ । पृथ्वीराजमार्गसँगै रहेको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रानाले बिहीबार रक क्लाइम्बिङ गर्नुभएको हो ।
म्याग्दे–६ शेरामा रहेको चट्टानमा गाउँपालिकाले रक क्लाइम्बिङको योजना बनाएकाले त्यसैका बारेमा छलफल गर्न विमलनगर पुगेका बेला रानाले रक क्लाइम्बिङ गर्नुभएको हो । “विमलगनरको रक क्लाइम्बिङ यस क्षेत्रकै चर्चित ठाउँ रहेको र कसरी रक क्लाइम्बिङ गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न आएका हौँ”, उहाँले भन्नुभयो ।
विमलनगर रक क्लाइम्बिङका संस्थापक अध्यक्ष लालकाजी श्रेष्ठले शेराटारमा रक क्लाइम्बिङको सम्भावना रहेको बारेमा आफूलाई जानकारी गराएको भन्दै रानाले भन्नुभयो, “पहिला एकचोटी विमलनगरमा हेर्न आउँछु है भनेकी थिएँ ।” साहसिक खेलका रूपमा रहेको रक क्लाइम्बिङ शेराटारमा पनि सञ्चालन गर्न सकिए यो आयआर्जनको स्रोत बन्ने रानाले बताउनुभयो ।
रानासँगै म्याग्दे–२ का अध्यक्ष चन्द्रबहादुर रानाभाट, वडा नं ४ का अध्यक्ष प्रेमबहादुर थापा, वडा नं ५ का अध्यक्ष शिवबहादुर आले, वडा नं ६ का अध्यक्ष बसन थापा, कार्यपालिका सदस्य बद्रीका भट्टराईले पनि रक क्लाइम्बिङ गर्नुभएको छ । पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँमा देशका विभिन्न तथा विदेशबाट समेत पर्यटक चट्टान आरोहणका लागि आउने गर्दछन् ।
विसं २०६४ मा नेपालका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक र स्थानीयवासी मिलेर सो क्षेत्रको सुरुआती अन्वेषण गरेपश्चात क्रमबद्धरूपमा यससँग सम्बन्धित सङ्घसंस्था तथा निकायले यस क्षेत्रमा आरोहण गतिविधि गर्नाका साथै व्यवस्थापन गर्दै आएको स्थानीयवासी लालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

