२५ बैशाख २०८१, मंगलवार
Follow Us

यस्तो छ प्रधानमन्त्री देउवाको बेलायत भ्रमण तालिका

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७८, शनिबार ०३:३९

चिरन शर्मा ।
लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमण आउने भएका छन्। प्रधानमन्त्री देउवा ग्लास्गो शहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वल्र्ड लिडर समिटमा सहभागी हुन बेलायत आउन लागेका हुन्।

नेपाली दुतावास लण्डनका अनुसार ५ दिने बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले बेलायतस्थित मन्त्री तथा सरकारी अधिकारीहरुसंग उच्चस्तरीय भेटघाट गर्ने भएका छन्।

लण्डनस्थित नेपाली दुतावासकी प्रवक्ता रोशन खनालका अनुसार प्रधानमन्त्री देउवा यही अक्टोवर २९ तारिख, शुक्रबार साँझ लण्डन उत्रिने तयारीमा छन्। देउवाले अक्टोवर ३० तारिख बेलायती मन्त्री र उच्चअधिकारीसंग भेटघाट गर्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ।

प्रधानमन्त्री देउवासंगको भेटघाटका लागि बेलायती मन्त्री र केही सरकारी अधिकारीहरूलाई आग्रह गरिएको छ तर अहिलेसम्म बेलायत सरकारको तर्फबाट जवाफ आएको छैन्, हामी उच्चस्तरीय भेटघाटका लागि प्रयत्नरत छौं खनालले बताइन्।

भ्रमणकै क्रममा देउवाको सम्मानमा अल पार्टी पार्लामेन्ट्री ग्रुपले बेलायती संसद् भवनमा स्वागत तथा सम्मानको कार्यक्रम गर्नेको तयारी गरेको छ। नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार प्रधानमन्त्री देउवाले यहाँस्थित नेपाली कांग्रेसका कार्यकर्ता, भूतपूर्व गोर्खा, गैरआवासीय नेपालीहरुसंग छुट्टै अन्तरक्रिया समेत गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री देउवा ३१ तारिख आइतवार साँझ लण्डनबाट समिट आयोजना हुने ग्लास्गो शहर प्रस्थान गर्ने भ्रमण तालिका तय भएको छ। प्रधानमन्त्री देउवा, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव सहित २० जनाको टोली सो समिटमा भाग लिन नोभेम्वर १ र २ तारिख ग्लास्कोमा रहने छ।

देउवाले वल्र्ड लिडर समिटमा विश्वमा तीब्र गतिमा हुदैं गएको जलवायु परिवर्तनमा नेपालको धारणा राख्ने छन्। प्रधानमन्त्रीको टोली ३ नोभेम्वरका दिन ग्लास्गो शहरबाट नेपाल फिर्ता हुने कार्यक्रम तय भएको छ।