२५ बैशाख २०८१, मंगलवार
Follow Us

पाँच दलीय गठबन्धन अग्रगामी हुनै सक्दैन : ओली

नेपालब्रिटेन संवाददाता
६ कार्तिक २०७८, शनिबार १६:५२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलको गठबन्धन अग्रगामी हुनै नसक्ने बताएका छन् । शनिबार वडा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनमा रहेको पाँच दलीय गठबन्धन प्रतिगामी गठबन्धन भएको आरोप समेत लगाए ।

‘यो प्रतिगामी शक्तिहरूको गठबन्धन हो । यो देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमन हुन नदिने, अनुशासन र अराजकता निम्त्याउने र कम्युनिस्ट सरकार ढाल्ने र राज्यस्तरबाट भइरहेको छ यो प्रतिगमनको बाटो हो’, ओलीले भने ।

उनले भने, ‘पार्टी छोड्ने, आफ्नो समूह लिएर जाने काम भयो । अब पार्टी एक भएको छ । अब पार्टीलाई कमजोर बनाउने तत्व बाहिरिएपछि राम्रो भएको छ । प्रचण्डले पार्टी बहिर्गमन गरेपछि र माधव नेपाल फरक ढंगले गएपछि हामीले पार्टीलाई सही ढंगले अगाडि बढाएका छौं ।’

पछिल्लो समय कमिटी निर्माणका क्रममा पार्टीभित्र अनुशासनहीनता देखिएपछि अब त्यो अन्त्य हुने ओलीको भनाई छ । यस्तै उनले वडा अधिवेशन एकतापूर्वक सफल रुपमा सम्पन्न हुनेछन् भन्ने विश्वास लिएको बताए । ‘एकैचोटी यति धेरै अधिवेशन उद्घाटन गर्नु सम्भवतः ऐतिहासिक हो । यस्तो अधिवेशन एमालेजस्तो एकता र संगठित पार्टी भएकाले मात्र सम्भव भएको हो ।’

यस्तै ओलीले काँग्रेसले १४ औँ महाधिवेशन नगर्न असफल भएको पनि बताए । काँग्रेसको नाम नलिई ओलीले भने, ‘केही आफूलाई लोकतान्त्रिक पार्टी भन्नेहरूले महाधिवेशन गर्न नसकेर अल्झिएको अवस्था छ । पार्टी विधान र नेपालको संविधानले दिएको समयमा पनि महाधिवेशन गर्न असफल भएका छन् ’, उनले भने ।

ओलीले देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन उद्घाटन गरेका छन् । दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत एमालेले शनिबार वडा स्तरका अधिवेशन गर्न लागेको हो । ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल माध्यमबाट देशैभरका वडाको एकैसाथ अधिवेशन उद्घाटन गरेका थिए ।