२१ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रदेश १ प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

नेपालब्रिटेन संवाददाता
७ कार्तिक २०७८, आईतवार ०९:५५

विराटनगर । दलहरुको आग्रहमा प्रदेश १ को प्रदेश सभाको बैठक एक सातापछि सरेको छ । सभामुख प्रदीपकुमार भण्डारीले दलहरूसँगको परामर्शपछि कात्तिक १५ गते सोमबार दिउँसो साढे १२ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । प्रदेश सभामा आज मुख्यमन्त्री भीमप्रसाद आचार्यको विश्वासको मतसम्बन्धि प्रस्तावमा मतदान हुने कार्यसूची थियो ।

सत्तारुढ एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको माग अनुसार नै बैठक स्थगित भएको हो । एमाले र कांग्रेसले पार्टीको आन्तरिक कारण देखाउँदै प्रदेशसभाको बैठक स्थगित गर्न माग गरेका हुन् ।

कांग्रेस प्रदेश १ ले सभापति शेरबहादुर देउवा प्रदेश–१ का बाढी प्रभावित क्षेत्रको भ्रमणमा आएका कारण बैठक रोक्न माग गरेको छ । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले धेरै सांसद सभापतिको कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले बैठक स्थगित गर्न माग गरेको बताउनुभयो ।

एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कात्तिक ९ गते पालिका अधिवेशन, ११ गते स्थायी कमिटि बैठक र १३ गते केन्द्रीय कमिटिको बैठक भएकाले त्यसपछि मात्रै बैठक राख्न माग गर्नुभयो । उहाँले कात्तिक १४ गते बाटोको म्याद राखी १५ गते प्रदेश सभाको बैठक सञ्चालन गर्न माग गर्नुभएको थियो ।

कांग्रेसले प्रधानमन्त्रीको भ्रमणलाई कारण देखाएर बैठक स्थगित गर्न भने पनि मुख्यमन्त्रीको कार्यकाल भागबण्डा गर्नु पर्ने माग राखेको बुझिएको छ । गठबन्धनमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएको छ ।

एकीकृत समाजवादीबाट संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने तयारीमा हुनुहुन्छ । तर बागमती प्रदेशमा मुख्यमन्त्रीको कार्यकाल आधा आधा बाँडफाड गर्ने सहमति भएपछि प्रदेश १ मा पनि कांग्रेसले भाग खोजेको बुझिएको छ । प्रदेशसभाको गत शुक्रबारको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्ताव पेश गर्नुभएको थियो ।

भदौ ९ मा मुख्यमन्त्री नियुक्त भएका आचार्य नेकपा एमाले विभाजनपछि अल्पमतमा हुनुहुन्छ । कुल ९३ सदस्य रहेको प्रदेश सभामा सत्तारूढ एमालेका ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ ।

संसदमा सामान्य बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ । विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १० र जसपाका ३ जना गरी ४९ जना सांसद छन्।