१५ बैशाख २०८१, शनिबार
Follow Us

यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद्को पाँच निर्णय

नेपालब्रिटेन संवाददाता
८ कार्तिक २०७८, सोमबार १५:०७

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण पाँचवटा निर्णय गरेको सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । प्रहरीको राशनमा १५ प्रतिशत वृद्धि, नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्ति गर्ने, बाढी तथा डुबानबाट धानबालीमा पुगेको क्षति अध्ययन गर्न गृहमन्त्रालयका सचिवको नेतृत्वमा अध्ययन कार्यदल गठन गर्नेदेखि लिएर कोभिड पीडित अति विपन्न परिवारलाई वितरण गरिने नगदको कार्यविधि स्वीकार गर्ने निर्णय गरेको छ ।

यस्ता छन् निर्णय
१. हालै बेमौसमी वर्षाको कारण आएको बाढी तथा डुबानबाट धान बालीमा भएको क्षतिको अध्ययन गरी तीनभित्र प्रतिवेदन पेस गर्न गृहमन्त्रालयको सचिवको संयोजकत्वमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, अर्थमन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहने गरी कार्यदल गठन गरेको छ ।

२. नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गरेको छ । निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

३. नेपाल पुनर्विमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे र सदस्य मदन पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

४. नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दर रेटमा १५ प्रतिशत वृद्धि गरी उपलब्ध गराउने ।

५. कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ स्वीकृति गरेको छ ।