२३ बैशाख २०८१, आईतवार
Follow Us

म्याग्दीमा सामूहिक बलात्कारका आरोपी पक्राउ

नेपालब्रिटेन संवाददाता
२३ कार्तिक २०७८, मंगलवार ०३:४७

म्याग्दी । सामूहिक बलात्कार गरेर फरार भएका तीनजना आरोपी बीस दिनपछि पक्राउ परेका छन् । यही कात्तिक २ गते एक महिलालाई बलात्कार गरी फरार भएका पुलाचौरका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन बानियाँलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले सार्वजनिक गरेको हो ।

पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले २२ वर्षीय प्रकाशलाई रुपन्देहीबाट आइतबार, १८ वर्षीय प्रवेश र २४ वर्षीय हिट्मेनलाई आज पोखराबाट पक्राउ गरिएको जानकारी दिनुभयो । “रातको समयमा सुतिरहेको अवस्थामा घरमै आएका तीन जनाले पालैपालो सामूहिक बलात्कार गरेको कात्तिक ४ गते पीडितले जाहेरी दिएपछि आरोपीको खोजी र अनुसन्धान सुरु गरेका थियौँ”, उहाँले भन्नुभयो, “जिल्ला अदालत म्याग्दीमा सामूहिक बलात्कारसम्बन्धी मुद्दा दर्ता र सात दिनको म्याद थपेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।”

मुद्दा दर्ता नहुँदै अनुसन्धान प्रभावित हुने गरी सामाजिक सञ्जाल फेसबुकमा गरिएका टीकाटिप्पणी, युुट्युबर र नाराबाजीका कारण घटना गिजोलिएर आरोपीहरू भागेपछि चुनौती देखिए पनि आधुनिक विधि र प्रविधिको प्रयोग गरेर आरोपी पक्राउ गर्न सफल भएको प्रनाउ राईले बताउनुभयो ।

मुलुकी अपराधसंहिता २०४७ को परिच्छेद १८ को दफा २१९ बमोजिम अठार वर्ष वा सोभन्दा बढी उमेरकी महिलालाई बलात्कार गरेको कसुर पुष्टि भएमा सातदेखि दस वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । साथै उपदफा ७ बमोजिम सामूहिक करण गरेमा थप पाँच वर्ष कैद सजाय हुने कानुन छ ।

आरोपितका अभिभावक तथा आफन्तहरुले भने सहमतिमा भएको सम्बन्धलाई राजनीतिकरण र विषयान्तर गरेर फसाउन खोजिएको दाबी गरेका छन् । प्रवेश र प्रकाश सहोदर दाजुभाइ हुन् । प्रवेश भारतमा कक्षा १२ अध्ययन गर्छन् । रुपन्देहीमा बस्दै आएका प्रकाश त्यहाँ सुनचाँदी पसलमा काम गर्छन् । हिट्मेन भने पुलाचौरकै स्थायी बासिन्दा हुन् । प्रवेश र प्रकाश दसैँ मनाउनका लागि अभिभावकसँग पुख्र्याैली घर आएका प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।