काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म करिब २५ लाख हस्ताक्षर सङ्कलन भएको जानकारी दिएको छ । आज (बिहिबार) पार्टीको मुख्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरी अनुमानित हस्ताक्षर र खर्चको विवरणबारे जानकारी गराएको हो ।
सहकारी ठगी आरोपमा पुर्पक्षका लागि भैरहवा जेलमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई राजनीति प्रतिशोध र पूर्वाग्रहका आधारमा राज्यले थुनामा राखेको भन्दै असार ७ गतेबाट हस्ताक्षर अभियान थालेको थियो । देश विदेशका विभिन्न माध्यमबाट हस्ताक्षर जारी नै रहेकाले तथ्याङ्क अझै बढी हुनसक्ने अभियानका संयोजक दीपक बोहराले जानकारी दिए ।
उनले हस्ताक्षर अभियानलाई थप प्रभावकारी बनाउन साउन पाँच गतेदेखि वडा स्तरमा घरदैलो कार्यक्रम गर्ने बताए । पाँच लाख लामिछानेको अपिल र २ लाख हस्ताक्षर फारम भरेर पठाइसकेको पनि जानकारी दिए ।
हस्ताक्षर अभियानमा हालसम्म ५९ लाख ६८ हजार खर्चको भएको बोहराले जानकारी दिए । ‘अभियानलाई थप विस्तार गर्न सभापतिको अपिल पाँच लाख र हस्ताक्षर २ लाख पठाइसकेको छ । साउन पाँच गतेबाट घरदैलो अभियानमा जाँदैछौँ । सात प्रदेश र अन्य दुई केन्द्रमा गरी जम्मा २४ लाख ५७ हजार ६१८ हस्ताक्षर भएको छ’, उनले भने ।