२३ बैशाख २०८१, आईतवार
Follow Us

पूर्व युवराज्ञी हिमानी शाहको आतिथ्यतामा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने

नेपालब्रिटेन संवाददाता
२३ कार्तिक २०७८, मंगलवार ११:३४

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यतामा छठ पूजाको अवसरमा बुधबार जनकपुरदेखि विरगञ्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै २०४७ सालको संविधान पुनःस्थापना हाम्रो अभियान, नेपाल नागरिक अभियान, विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय तथा श्रीराम हनुमान आराधना मण्डल नेपालसहित चारवटा संस्थाहरु आवद्ध भएको संयुक्त केन्द्रीय समितिले पुष्पवृष्टि’बारे जानकारी दिएको हो ।

समितिले विशेषगरी धनुषा(जनकपुर), पर्सा र बारामा पुष्पवृष्टि गर्ने जानकारी दियो । धनुषा (जनकपुर)मा गंगासागर पोखरी, दशरथ सागर पोखरी तथा जानकी मन्दिर तथा आसपासका पोखरीहरुमा, पर्सा (विरगञ्ज)को घडिहरवा माईपोखरी तथा आसपासका पोखरीहरुमा दिउँसो ४.३० बजे र बाराको बहुअरी पोखरी–५ मा पृष्पवृष्टिको कार्यक्रम रहेको जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै पूर्व राजदूत राम भक्त ठाकुरले छठ शब्दले नै मनमा उमंग बढ्ने बताए । उनले पूर्वयुवराज्ञी हिमानी शाहको आतिथ्यमा कार्यक्रम हुने खबरले आफू निकै हर्षित भएको सुनाए । २०४७ सालका संविधान पुनः स्थापना हाम्रो अभियानका नेता किशोरी महतोले सुर्य भगवानको कृपाले देशका सबै नेपालीहरुलाई रक्षा होस् भन्दै शुभकामना दिए । उनले दरबारभित्र छठ पुजा भित्राउन सफल भएकोमा खुशी व्यक्त गरे । उनले सुर्यको ताप र ज्योति हरेक अंगमा प्रतितापन भन्दै जिउदै देखिने भगवान भनेकै सुर्यनाथ भएको समेत जिकिर गरे ।

महतोले भने,‘राजा अब उठ्नोस, जनतालाई दिएको नासो अब फर्काउने बेला आयो । अब गणतन्त्रको दिन गएको बताउँदै उनले अब जतिसक्दो छिटो देश राजाले लिनुपर्ने भन्दै राजाले देश नलिए कोही बाँकी नरहने बताए । अबको समयमा देश बचाउन राजा नै आउनुपर्ने उनको भनाई थियो । राजनीतिक दलहरुले देशको समस्या समाधान गर्ने हो भने राजासँग वार्ता गरेर ०४७ सालको संविधान अनुसार वार्ता गरेर पाप पखाल्न समेत आग्रह गरे ।

नेपाल नागरिक अभियान उपत्यकाका संयोजक राकेश कृष्ण अमात्यले राजा सबैको साझा भएको बताए र राजालाई सबै जनताको माया उत्तिनै हुने बताए। उनले राष्ट्र गभ्भिर अवस्थामा रहेको भन्दै कसरी उठाउने त्यसको बारेमा सोच्नुपर्ने बताए । राजसंस्था विना राज्य नरहनेको उनको भनाई थियो । राष्ट्रियता कायम गर्न राजा एकमात्र विकल्प रहेको भन्दै उनले आफै मालिक हुनलाई राजसंस्था मात्र आधार भएको उल्लेख गरे । नेपालीहरु दासप्रथामा बस्न नसक्ने जिकिर गर्दै उनले सबैलाई एकिकृत गराउने भनेको राजसंस्था मात्रै भएको बताए ।

विजेश्वरी मन्दिरका पुजारी हेमरत्न शाक्यले कार्यक्रममा राष्ट्र र आम नागरिकको शान्ति, अमनचयनको लागि प्रकृति सुहाउँदो राजासहितको राजसंस्थाको माग गरे ।

प्रजातन्त्र नै यो राष्ट्रको हितमा हुने उनको भनाई थियो । उनले शान्तिको बाटोको लागि आम नागरिकको महत्वपुर्ण भुमिका हुने हुँदा सबैले सहयोग गर्नेमा विश्वास रहेको बताए ।

संयुक्त केन्द्रीय समितिका महासचिव डा. हरिहर प्रदिप घिमिरेले राजसंस्था देशले मात्र नभएर अन्तराष्र्टिय जगतले नै नेपालमा आबश्यकता महसुस गरेको बताए । उनले राजाले देशका जनतालाई जस्तोसुकै अवस्थामा पनि साथ दिँदै आएको समेत जिकिर गरे । उनले भने, ‘धर्म असल कर्म हो । धर्म मानविय आचार हो । धर्म सकल प्रणालीमात्रको निमित्त गरिने योगदान हो । राष्ट्रलाई विखण्डन बनाउने धर्म निरपेक्षता हो । राजसंस्था देशले मात्र नभएर अन्तराष्र्टिय जगतले नै नेपालमा आबश्यकता महसुस गरेको छ ।’