२३ बैशाख २०८१, आईतवार
Follow Us

विधानभन्दा बाहिर गएर सहमति हुन सक्दैन : डा बद्री केसी, उपाध्यक्ष एनआरएनए

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७८, मंगलवार ०१:०१

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार डा.बद्री केसीले आफुहरु बिधानभन्दा बाहिर गएर सहमती गर्ने पक्षमा नरहेको बताउनु भएको छ । केसीले विधी र विधानलाई मानेर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै विधानभन्दा बाहिर गएर सहमति गर्ने पक्षमा भने आफूहरु नरहेको बताउनु भएको हो ।

केसी टिमले आयोजना गरेको ‘ककस’ नामक कार्यक्रममा बोल्नुहुँदै केसीले भन्नु भयो, ‘संस्थामा विधी र विधान पनि हुन्छन् । कसैलाई चुनाव जिताउनका लागि विधान मिच्ने कुरा हुँदैन ।’

उहाँले विवाद समाधान गर्न र सहमतीको विन्दु भेट्टाउन आफूहरु लचिलो हुन भने तयार रहेको बताउनु भयो । ‘अहिले देखिएको प्रतिनिधि विवादलाई सुल्झाउन हामी लचिलो हुन तयार छौं’, उहाँले थप्दै भन्नु भयो ।

संघको निर्वाचन आन्तरिक प्रतिस्पर्धाका कारण विगत ४ महिना देखी इतिहासमै पहिलो पटक रोकिएको भन्दै उहाँले अधिवेशन र निर्वाचन कहिले हुने भन्नेमा अन्यौल छाएको बताउनु भयो । उहाँले निर्वाचन रोकिन जाँदा ६ महिना अवधी थप्न बाध्य भएको बताउँदै चुनावको अन्योलताले कुनै पनि काम गर्न नपाएको पनि बताउनु भयो ।