२७ बैशाख २०८१, बिहीबार
Follow Us

प्रदेश १ : एमाले नआएपछि प्रदेशसभा बैठक स्थगित

नेपालब्रिटेन संवाददाता
३० कार्तिक २०७८, मंगलवार ११:२०

विराटनगर । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि (बुधबार) बिहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो ।

नेकपा एमालेले भने विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । तर कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले बैठक रोक्न सहमत भएनन् ।

त्यसपछि बसेको बैठकमा विपक्षी दल नेकपा एमालेका एक जना पनि सांसद सहभागी नभएपछि सभामुख प्रदीपकुमार भण्डारीले बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।