२७ बैशाख २०८१, बिहीबार
Follow Us

विदेशबाट आउनेलाई १० दिन क्वारेन्टिनमा राख्ने मन्त्रिपरिषद्को निर्णय

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७८, सोमबार १२:३९

काठमाडौं । सरकारले विदेशबाट आउने यात्रुलाई अनिवार्य १० दिन क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । साथै, विमानस्थलसहित नाकामा पनि कडाइ गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी स्वास्थ्यमन्त्री विरोध खतिवडाले दिए । उनले बैठक कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमाइक्रोनको समिक्षा समेत भएको बताए ।

नयाँ भेरिएन्टबारे विश्व स्वास्थ्य संगठनले अध्ययन जारी राखेको र एकसातामा यसबारे विस्तृत जानकारी आउने प्रतिक्षामा सरकार रहेको समेत मन्त्री खतिवडाले बताए ।

‘अहिले वैज्ञानिकहरु नयाँ भेरिएन्ट कस्तो प्रकारको हो भन्नेबारेमा अध्ययनमा जुटेका छन् । एकसातासम्म यसबारे जानकारी आउनेछ भन्ने सरकारको आशा छ’ उनले भने, ‘त्यसपछि अहिलेकै खोप अभियानलाई निरन्तरता दिने वा बुस्टर डोज लगाउने निर्णय हुनेछ ।’

ओमाइक्रोमक भेरिएन्ट भेटिएका मुलुकबाट हुने हवाइ उडानबारे आगामी साता निर्णय गर्ने जानकारी पनि उनले दिए । विश्व स्वास्थ्य संगठनका अनुसार सोमबारसम्म विश्वका १४ मुलुकमा नयाँ भेरिएन्ट संक्रमण पुष्टि भएको छ ।