२ श्रावण २०८२, शुक्रबार
Follow Us

अल्डरशटमा पत्रकार सम्मेलन : कुलमान घिसिङ बेलायत आउने

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०८२, शुक्रबार १३:४०

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को प्रेम गाहामगर समूहले आसन्न निर्वाचनप्रति असन्तुष्ट व्यक्त गरेको छ ।

अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा बुधबार एक पत्रकार सम्मेलन गर्दै सो समूहले सर्वोच्चको परमादेशमा गठित उच्चस्तरिय समितिले एकता महाधिवेशन गरेर काठमाडौंमा महेश श्रेष्ठ र सोही अनुरुप एनआरएनए यूकेको नेतृत्व प्रेम गाहामगरलाई दिइसकेको दावी गरेको छ ।

गाहामगरले विगत ५ वर्षदेखि बेलायतमा विवाद रहेपनि सर्वोच्च अदालतले परमादेश जारी गरि डा. शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरिय समितिले एकता महाधिवेशनमार्फत आइसीसी र बेलायतमा आधिकारिक कमिटी चयन गरिसकेको जनाए ।
उक्त कमिटीलाई नेपाल सरकार परराष्ट्र मन्त्रालयले समेत मान्यता दिएर जेठ ८ मा विश्वभरका कूटनीतिक नियोगहरुमा पत्राचार गरेको पनि गाहामगरले बताए । गाहामगरले लन्डनस्थित दूतावाससंग आफूहरु निकट रहेको तर कानूनी झमेलामा राजदूतावास संलग्न नहुने र उसले आसन्न अधिवेशनलाई मान्यता पनि नदिने प्रष्ट्याए ।

गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरताका लागि आफूहरु लडिरहेको जनाउंदै भ्रष्टाचारका कारण एनआरएनएमा विवाद आएको र त्यसलाई निर्मुल नगरेसम्म वंशजको नेपाली नागरिकता अभियान अगाडि नबढ्ने बताए ।

गाहामगरले लोकप्रिय प्रशासक नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङसंग आउंदो अगष्ट १५ मा ‘मिट एण्ड ग्रीट’ र सेप्टेम्बर १३ मा ‘एनआरएनए कप’ गर्ने तयारी गरिरहेको पनि जनाए ।

प्रमुख अतिथी एनआरएनए आइसीसी उपाध्यक्ष विश्वासदीप तिगेलाले आइसीसी अध्यक्ष महेश श्रेष्ठले नेतृत्व लिएपछि एक महिना समय अर्को पक्षलाई समेट्न कोशिस गर्दा अर्को समूहले त्यसलाई कमजोरीका रुपमा लिएको बताए । कार्यक्रममा संघका सचिव कृष्णप्रसाद खतिवडाले कथित अधिवेशन अवैधानिक, गैर कानूनी र समाजले पनि स्वीकार्न नसकेको जिकिर गरे ।

संघका प्रमुख सल्लाहकार डा भीम पुनले यसअघि सबैलाई समेट्ने उद्देश्य अनुरुप अर्को समूहका अध्यक्ष हितकाजी गुरुङ लगायतलाई एकताको वार्तामा ल्याउन प्रयास गरिएपनि सम्भव नभएको स्मरण गर्दै एउटा राजनीतिक पार्टीको इसारामा हुने अधिवेशन आधिकारिक नहुने र भ्रममा नपर्न अपिल गरे ।

प्रमुख सल्लाहकार राजकुमार त्रिपाठी (आरके) ले एउटा समूहले चुनाव गरेर समुदायमा गोलमाल र द्धिविधा बनाएको बताए ।

एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्रीले प्रेम गाहामगरले भ्रष्टाचार र नागरिकताका मुद्दा लिएर हिंड्दा झन हतोत्साही पारिएको बताए ।
प्रवक्ता डा। कुलप्रसाद कंडेलले प्रेस वक्तव्य पढ्दै आसन्न चुनाव र अधिवेशन भ्रामक अनि समाज विभाजनको एक कारक रहेको बताए ।

महासचिव जुरेन्द्र खजुम लिम्बुले सञ्चालन गरेको पत्रकार सम्मेलनमा एनआरएनए यूके आइसीसी सदस्यहरु ओमप्रसाद थापा, श्रीप्रसाद गुरुङ, विजय गुरुङ, सल्लाहकारहरु गोमा राना, हितमान गुरुङ, रमति पुन, टंक गुरुङ, मनिष खालिङ, अजयसिंह ठकुरी, एनआरएनए यूके उपाध्यक्ष उपाध्यक्ष अनिल मल्ल, पहिलो नेपाली तारा दिपक लिम्बु, नायिका रेखा लिम्बु, शारदा गुरुङ, पत्रकार एवं पूर्व डिएसपी बाचस्पति रेग्मी लगायतको उपस्थिति थियो ।

धेरै पढिएको