२६ बैशाख २०८१, बुधबार
Follow Us

नेकपा (एस) ले एमसीसी टेबल गर्न दिने, पारित नगर्ने

नेपालब्रिटेन संवाददाता
७ फाल्गुन २०७८, शनिबार १२:५७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसदमा टेबल गर्न नरोक्ने भएको छ । सहरी विकास मन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसदमा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको जानकारी दिएकी हुन् ।

यद्यपि, यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने पनि स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । यसलाई संशोधन गरेरमात्र पारित गर्न सकिने पार्टीको धारणा रहेको उनले स्पष्ट पारे । यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिए ।

‘टेबल गर्ने कुरामा हाम्रो धेरै आपत्ति छैन । संसदमा छलफल गर्न पाउनुपर्छ । तर यसका केही विषयहरू स्पष्ट हुनुपर्छ । जबरजस्ती टेबुल गरिने छैन,’ उनले भने, ‘यसका लागि सहमति हुनुपर्छ । संसद्को अवरोध हट्नुपर्छ । अनि मात्र टेबल गर्ने वातावरण बन्नसक्छ ।’ जबरजस्ती टेबल गर्न नदिन आफूहरूको कोसिस रहने तर त्यसो गरिए त्यसबारे आवश्यक निर्णय सचिवालयले गर्ने खतिवडाको भनाइ छ ।