२२ बैशाख २०८१, शनिबार
Follow Us

बार एसोसिएसन निर्वाचनः अध्यक्षमा सत्ता गठबन्धनबाट घिमिरे, एमालेबाट अधिकारी उम्मेदवार

नेपालब्रिटेन संवाददाता
२३ फाल्गुन २०७८, सोमबार ०९:४३

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले निकटका कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धनले कांग्रेस निकट गोपालकृष्ण घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार बसेको सत्ता गठबन्धका नेताहरुले घिमिरेको नाममा सहमति जुटाएका हुन् । कांग्रेस निकट कानुन व्यवसायीको संगठन डिएलएका पूर्वअध्यक्ष घिमिरे कांग्रेसको निर्वाचन समितिका संयोजकसमेत हुन् ।

एमाले निकट कानुन व्यवसायी संगठन प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) ले अध्यक्षमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीलाई अगाडि सारेको छ। पीपीएलएले अध्यक्षसहितको प्यानल घोषणा गरेको हो।

जसमा उपाध्यक्षमा प्रदेश १ बाट रोहित डाँगी, प्रदेश २ बाट केशव दास, बागमतीबाट डिल्लीराम मैनाली, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट वासुदेव ज्ञवाली, कर्णालीबाट विष्णुप्रसाद तिमल्सिना र सुदूरपश्चिमबाट चन्खबहादुर सावद (सीभी) ले उम्मेदवारी दिने तय भएको छ।

पीपीएलएको प्यानलमा महिला उपाध्यक्षमा रमा श्रेष्ठ, महासचिवमा केदारप्रसाद कोइराला र कोषाध्यक्षमा जगतबहादुर कार्कीले उम्मेदवारी दिने भएका छन् । १९ चैतमा देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ । बारले निर्वाचन केन्द्र पनि तोकेको छ । बारको अहिलेको कार्यसमितिको कार्यकाल सकिन लागेकाले नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको हो ।