१५ बैशाख २०८१, शनिबार
Follow Us

कहिलेसम्म कूलको काँधमा शेषको बन्दुक ? (टिप्पणी)

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७८, आईतवार ०४:५२

लन्डन । सन् २०१९ को अक्टोवर दोस्रो साता गैरआवासीय नेपाली संघको निर्वाचनका लागि काठमाडौंस्थित ह्यात होटलमा उम्मेदवारी दर्ताको समय थियो । साँघुरो कोठामा निर्वाचन समितिले गरेको व्यवस्थापनका कारण भिड्भाड थियो । अध्यक्षका प्रत्यासी कुमार पन्त र कुल आचार्य आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने तयारीमा थिए ।

ठेलमठालका बीच कुल आचार्यले आफ्नो उम्मेदवारी दर्ता गर्न हातमा चेक बोकेर निर्वाचन समितिको कार्यालयमा पुगे । उनले आफ्नो उम्मेदवारीसहित शुल्कका लागि १० लाख रुपैयाँको चेक लगेर चुनाव समितिलाई बुझाए । साथमा एनआरएनए पूर्वअध्यक्ष शेष घलेकी पत्नी जमुना घले निर्वाचन कार्यालयमा उपस्थित थिइन् । आचार्यलाई घले समूहले उम्मेदवारी दिन लगाएको थियो ।

यसैबीच कुल आचार्यले निर्वाचन समितिमा पुगेर आफ्नो चेक एकै छिनको लागि भन्दै फिर्ता लिए । दुई तीन फोन कल रिसिभ गर्दै एउटा कुनामा गएर घोरिए । एकै छिन् आए चेक बुझाएर उम्मेदवारी दर्ता गरेर हसिलो मुहारसहित नारावाजी गर्दै बाहिरिए ।

आचार्यले आफैंले दिएको चेक फिर्ता लिएर एउटा कुनामा गएर घोरिनुको ठूलो अर्थ थियो । त्यो चेक फिर्ता लिएर फेरि निर्वाचन समितिमा लगेर बुझाउनु उनको लागि एनआरएनए अभियानमा आफ्नो बाटो मेट्ने कामको सुरुआत थियो । आचार्यले उम्मेदवारी दर्ता गर्नै लाग्दा संघका पूर्वअध्यक्ष जीवा लामिछाने, संस्थापक मध्येका एक चिरन्जीबी ढकाललगायतको एउटा टोली नेतृत्व विवाद मिलाउन सहमतिको खाका कोर्न द्ववारिका होटलमा सक्रिय थियो । आचार्यले अर्को कार्यकाल (२१–२३) को अध्यक्ष बनाउने ग्यारेन्टीका साथ लिखित सहमति तयार थियो ।

अर्को पक्ष, शेष घले समूहले संघको महासचिवमा डा. हेमराज शर्माको सट्टामा जानकी गुरुङलाई लिएर गएमा कुमार पन्तलाई सहयोग गर्ने बचन दिएको थियो । घले समूहको बचनमा विश्वास गरेर पन्तले शर्मालाई आफ्नो टिममा नराख्ने तयारी गरेका थिए । तर, पूर्वअध्यक्ष जीवा लामिछानेको दवाव र शर्माले पन्तको टिमबाटै बिद्रोह गरेर आचार्य समूहबाट चुनाव लड्ने बताएपछि पन्त एकाएक हच्चिएका थिए । कुल आचार्यको अध्यक्ष पद दाउमा राखेर घले समूहले जानकी गुरुङलाई निर्वाचन जिताउन चाहन्थ्यो, तर त्यो प्रयास सफल हुन् सकेन् । आचार्यले चुनाव हरे लगत्तै २०२१–२३ को कार्यकालका लागि आफ्नो चुनावी अभियान सुरु गरे । कुमार पन्तसँग करिब १५० मतान्तरले पराजित भए पछि आचार्यको मनोबल बढेको थियो । उनले अर्का उपाध्यक्ष डा. बद्री केसीसँग फेरि दोस्रो पटक उम्मेदवार बन्ने घोषणा गरे ।

उनले पूर्वअध्यक्षहरु, संस्थापकलगायत सबैसँग सहयोगको लागि याचना गरे, तर उनीहरुले अघिल्लो कार्यकालमा कुमार पन्तसँग चुनाव नलड्न सुझाव दिएको तर उनीले अस्वीकार गरेको सम्झना गराए । आचार्य फेरि नेपाली कांग्रेसको बैशाकी टेकेर चुनाव लड्न तयार भए ।

आचार्यले पन्तसँग चुनाव लड्न आफ्नो गल्ती भएको भन्दै मन जित्ने प्रयास गरे तर उनको भनाईको सुनुवाई भएन् । पूर्वअध्यक्ष शेष घलेले सार्वजनिक रुपमै डा. बद्री केसीलाई सिध्याउने घोषणा गरे थिए । केसीबिरुद्धको उम्मेदवारको खोजी हुदैथियो ।

वर्तमान उपाध्यक्ष मन केसीले चुनाव नलड्ने घोषणा गरेपछि घले समूहले फेरि दोस्रो पटक आचार्यको काँधमा बन्दुक राखेर केसी, लगायत संस्थापन पक्षमाथि प्रहार गर्ने रणनीति बनायो ।

पूर्वअध्यक्षद्वय डा. महतो र लामिछानेको सहयोग र स्कुलिङमा एनआएनए अभियानमा स्थापित आचार्यलाई फेरि घलेले युज गरे । अहिले पनि शेष घले समूहले आचार्यलाई अध्यक्ष बनाउन खोजेको होइन् डा. केसीलाई सिध्याउन प्रयोग गरेको हो भन्ने विषयमा संघभित्र दुई मत छैन् ।

पूर्वअध्यक्ष शेष घले समूहले संघको १० औं महाधिवेशनको लागि छुट्टै भेलाको आयोजना गरेपछि आचार्य फेरी एक पटक कुनामा गएर घोरिने दिन आउन थालेका छन् । उनले सहयोगको लागि अपेक्षा गरेको राजनीतिक दल नेपाली कांग्रेस एनआरएनएको अभियान विभाजन होस् भन्ने पक्षमा छैन् । आचार्यलाई सिंगो एनआरएनएको लागि उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको तर घले समूहको अध्यक्ष बन्न आचार्यलाई पार्टीले छुट दिएको छैन् ।

आचार्यलाई संस्थापन पक्षले अवसर नै अवसर दिएको छ तर उनमा एक निर्णय गर्ने क्षमताको कमी हुदाँ सहमति जुटेको छैन् । सहमतिका उनी दिनमा तीन–चारवटा माननिकता बनाएर हिडेका हुन्छन् ।

बेलुका हुन्छ भने पनि बिहान भेट्दा अर्कै कुरा गर्दै प्रस्तुत हुन्छन् । उनलाई संस्थापन पक्षले १८ महिनापछि हुने ११ औं महाधिवेशनमा पूर्णअधिकारसहितको अध्यक्ष हुने वा अहिले नै बहुअध्यक्षतात्मक प्रणाली अन्तरगत दुई मध्ये एक अध्यक्ष बन्ने रोज्न भनेको थियो । तर, घले समूहको चंगुलमा परेका आचार्यलाई त्यहाँबाट फुत्किन सजिलो छैन् । घलेले आचार्यलाई युज एण्ड थ्रो को रणनीति अन्र्तगत सदुपयोग गरिरहेको छ । जहिलेसम्म संस्थापन पक्ष अर्थात् संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछानेका बिरुद्ध प्रयोग गर्न सक्छ त्यही बेलासम्म घले समूहले आचार्यलाई सहयोगको नाटक मन्चन गरिरहने छ ।

एनआरएनए यूकेका पूर्वअध्यक्षसमेत रहेका आचार्यले आफ्नो कार्यकालको अन्त्यमा एनआरएनए यूकेमा अहिलेकै मोडलमा दुईवटा कार्यसमिति गठन गराएका थिए । एक पक्षले औपचारिक रुप प्रकृयामार्फत नेतृत्वमा स्थापित भएको थियो भने अर्को पक्ष अहिले शेष घलेले आयोजना गरेको जस्तै छुट्टै अवैधानिक भेला गरेर कार्यसमिति गठन गरेको थियो । पछि दुबै कार्यसमितिलाई एक बनाएर एक कार्यकालमा दुई जना अध्यक्षमा स्थापित भएका थिए आचार्यले अहिले यूके मोडलबाट संघको अध्यक्ष भएर केन्द्रीय कार्यालयमा फोटो टास्न खोजको सजिलै बुझ्न सकिन्छ ।

अतः पटक पटक गरेका गल्ती नदोहोराउने हो, आचार्यलाई १० औं महाधिवेशनले पुनः संघको (सबै पक्षको) अध्यक्ष बन्ने अवसर अझै जिउका तिउ छ । उनलाई अध्यक्षको लागि ढोका खुलेको छ त्यसको आचार्यले केही धैर्य र आत्मनिर्णयको क्षमता बढाउनु पर्छ । घले समूहको भेलामा होइन्, गैरआवासीय नेपाली संघको महाधिवेशनको बाटो रोज्नु बुद्धिमानी हुनेछ ।