२५ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनएमा एकता: शेष घले असन्तुष्ट, संस्था फुटाई छाड्ने अडानमा

नेपालब्रिटेन डट कम्
८ चैत्र २०७८, मंगलवार ०१:१८

विभाजनको सँघारमा पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद समाधान भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेका नेतासहित भएको छलफलले विवाद समाधान भएको स्रोतले जनाएको छ ।

सहमतिअनुसार अध्यक्षका प्रत्याशी डा बद्री केसी र कुल आचार्यले एक–एक वर्ष कार्यकाल चलाउनेछन् । पहिलो वर्ष कुल आचार्यले संघको नेतृत्व गर्नेछन् भने डा। बद्री केसीले दोस्रो कार्यालयको नेतृत्व गर्नेछन् । सहमति हुने भएपछि अध्यक्षका अर्को प्रत्याशी रविना थापा भने सल्लाहकार बन्ने भएकी छिन् ।

यसअघि पनि पटक–पटक भएको छलफलमा सहमति हुन नसकेपछि असन्तुष्ट पक्षका तर्फबाट चिन्तामणि सापकोटा र उमेशकुमार पुडासैनीले उच्च अदालत पाटनमा निर्वाचन रोकिपाऊँ भनी मुद्दा दायर गरेका थिए । आइतबार भएको बहसमा अदालतले निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको थियो । निर्वाचन प्रक्रिया नै रोकिने भएपछि सोमबार बेलुका नेपाली कांग्रेसका नेताहरूको मध्यस्थकर्तामा सहमति भएको हो । सोमबार रातिसम्म कार्यसमितिका अन्य पदाधिकारीमा पनि सहमतिका लागि छलफल भइरहेको स्रोतको भनाइ छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संस्थापन पक्षलाई संस्था नै फुटाउने चेतावनी देखाउँदै आएका थिए । सोमबार साँझ विवाद समाधान भए पनि उनी अझै सन्तुष्ट छैनन् । स्रोतका अनुसार पूर्वअध्यक्ष घले र उनकी श्रीमती जमुना घलेले कुनै पार्टीको सहयोग नभए पनि समानान्तर निर्वाचन गराइछाड्ने अडान लिएका छन् । तर, सोमबारको छलफलपछि कुल आचार्यले भने घलेको साथ छोड्ने भएका छन् । घलेले अयोजना गर्ने निर्वाचनमा उनी सहभागी नहुने भएका छन् ।

संघलाई विभाजनतर्फ लैजान घलेले प्रमुख भूमिका खेलेको देखिएको छ । तसर्थ, राजनीतिक दलका नेताहरूले घलेलाई बाइकट गरी कुल आचार्य र संघका अध्यक्ष कुमार पन्तसहित संस्थापन पक्षबीच सहमतिका लागि छलफल गरेका थिए ।

यस अघि पनि नेपाली कांग्रेसका नेताहरूको मध्यस्थकर्तामा दुवै पक्षबीच छलफल भएको थियो । तत्कालीन समयमा पनि दुवै पक्षबीच करिब–करिब सहमति भइसकेको थियो । तर, शेष घलेका कारण समस्या बल्झिएको संघका सदस्यहरूले बताएको नयाँपत्रिकाले लेखेको छ ।