९ फाल्गुन २०८२, शनिबार
Follow Us

मुलुकबाहिर रहेका ९० लाख नेपालीसहित लगानी भित्र्याउन विशेष नीति लागू गर्छौंः काँग्रेस सहमहामन्त्री राणा

नेपालब्रिटेन संवाददाता
९ फाल्गुन २०८२, शनिबार १३:५८

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले राजनीतिक र नीतिगत स्थिरता बिना मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन नसकिने बताएका छन् ।

पार्टीको तर्फबाट ललितपुर क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका उनले यस्तो बताएका हुन् ।

उनले निर्वाचनपछि आफ्नो पार्टीको सरकार बनेको खण्डमा मुलुकको अर्थतन्त्र चलायमान बनाउन नीतिगत स्थिरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालका बैङ्कहरूमा तरलता भएपनि सर्वसाधारणले सहज रूपमा ऋण पाउने अवस्था नरहेको उल्लेख गरे । उनले लगानीसँगै मुलुकबाहिर रहेका ९० लाख नागरिकलाई स्वदेश फर्काउन पार्टीले विशेष नीति र कार्यक्रम लागू गर्ने दाबी गरे ।

उनले भने ‘नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन मेरो पनि जिम्मेवारी हुन्छ । अहिले पनि ९० लाख नेपाली नागरिक देश बाहिर रहेका छन् । उनीहरूलाई नेपाल फर्काउनको लागि चुट्कि बजाएर हुँदैन । हामीले मुलुकको अर्थतन्त्रमा आमूल परिवर्तन गर्नुपर्छ । त्यसको लागि हामीले लगानी पनि नेपालमा ल्याउनुपर्छ र निजी क्षेत्रलाई पनि चलायमान बनाउनुपर्छ । नेपालका बैङ्कहरूमा पैसा छ तर नेपालीहरूले त्यो पैसाको प्रयोग गर्न पाएका छैनन् । नेपालमा सबैभन्दा ठुलो समस्या भनेको स्थिरताको समस्या हो । एउटा सरकार आउँछ एउटा कुरा लाद्छ । अबको चुनावपछि हामी सरकारमा आएपछि कर संरचना पाँच वर्षसम्म परिवर्तन हुँदैन यो नेपाली काँग्रेसको कमिटमेन्ट हो । यति गर्न सकियो भने लगानीकर्ताहरूलाई आफ्नो टाइम स्पेन्ट गर्न पनि पाइन्छ ।’

उनले कर संरचनामा स्थिरता कायम गर्न सके लगानीकर्ताले दीर्घकालीन योजना बनाएर काम गर्न सक्ने वातावरण बन्ने समेत जिकिर गरे ।

धेरै पढिएको