२० बैशाख २०८१, बिहीबार
Follow Us

विश्वकप फुटबल २०२२ का लागि पोर्चुगल र पोल्याण्डको स्थान सुरक्षित

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०७८, बुधबार ०४:३०

लन्डन । फिफा विश्वकप २०२२ को युईएफए छनौटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनौट भएको छ । आज बिहान पोर्चुगलको पोर्टोमा भएको खेलमा पोर्चुगलले म्यासेडोनियालाई २-० गोलको जीत निकाल्दै २०२२ को कतार विश्वकपमा आफ्नो स्थान सुरक्षित बनाएको हो ।

पोर्चुगलको जीतमा दुवै गोल सेन्टर मिडफिल्डर ब्रुनो फर्नान्डेजले गरेका थिए । पहिलो हाफको ३२औं मिनेटमा कप्तान क्रिष्टियानो रोनाल्डोको पासलाई गोल गर्दै फर्नान्डेजले पोर्चुगललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६५औं मिनेटमा जोटाको पासलाई फर्नान्डेजले अर्को गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । खेल अवधिभर पोर्चुगलले आफ्नो घरेलु मैदानमा म्यासेडोनियामाथि पूर्ण दबदबा राखेको थियो ।

प्लेअफकै आज सम्पन्न अर्को खेलमा भने पोल्याण्डले स्वीडेनलाई हराउँदै विश्वकपमा आफ्नो स्थान सुरक्षित बनाएको छ । स्वीडेन भने पोल्याण्डसँग २-० गोलको हार व्यहोर्दै फिफा विश्वकप २०२२ बाट बाहिरिएको छ ।

फ्रान्स र स्पेनको सानदार जित
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार राति विश्वका महारथी राष्ट्र फ्रान्स र स्पेनले सानदार जित निकालेका छन् । फ्रान्सले दक्षिण अफ्रिकामाथि ५–० अन्तरको फराकिलो जित निकाल्यो । फ्रान्सको एकपक्षीय जितमा युवा स्टार केलियन एमबाप्पेको दुई तथा ओलिभर जिरुड, विसाम विन यडर र माटियो गुइडोजीले समान एक गोल गरे । यस्तै अर्को खेलमा स्पेनले आइसल्यान्डमाथि ५–० अन्तरको विशाल जित निकाल्यो । स्पेनको जितमा अल्भारो मोराटा र पाब्लो सारावियाले समान दुई गोल गरे भने यारेमी पिनोले एक गोल गरे ।