३० बैशाख २०८१, आईतवार
Follow Us

कानुनी मन्त्रीमा गोविन्द बन्दी, बडूलाई वाणिज्य मन्त्रालयकाे जिम्मेवारी

नेपालब्रिटेन संवाददाता
२४ चैत्र २०७८, बिहीबार १०:०१

काठमाडौं । अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । मौजुदा कानुन न्याय तथा संसदीय मन्त्री दिलेन्द्र बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री बन्दीका अनुसार बिहीबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ ग्रहण कार्र्यक्रम छ । बन्दी संघीय संसदमा सदस्य छैनन् । ६ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्न नसकेमा स्वतः उनको मन्त्री पद गुम्नेछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६ महिनामा मन्त्री पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रीको जिम्मेवारी हेरफेर र नियुक्तिपछि उद्योग मन्त्रालयले मन्त्री पाएको हो । कानुन मन्त्री रहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ । कानुन मन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गरी बडूलाई उद्योग मन्त्री बनाइएको हो । गत २४ असोजमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री जेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको थियो ।