२६ बैशाख २०८१, बुधबार
Follow Us

स्वीडेन र फिनल्याण्डलाई रुसको चेतावनी

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०७८, मंगलवार ०५:३४

रुसले युरोपेली राष्ट्रहरु फिनल्याण्ड र स्वीडेनलाई पश्चिमा सैन्य संगठन नेटोमा सामेल नहुन चेतावनी दिएको छ। रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले नेटोमा आवद्ध हुने तयारीमा रहेका फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने भन्दै त्यस्तो चेतावनी दिएको हो । नेटो संगठन टकराव निम्त्याउने माध्यमका रुपमा रहेको भन्दै रुसले गत फेबु्रअरी २४ देखि युक्रेनमाथि सैन्य आक्रमण गर्दै आएको छ ।

यही परिवेशमा फिनल्याण्ड र स्वीडेनले पनि नेटोको सदस्य बन्ने सम्भावनाबारे छलफल थालेकै बेला रुसले चेतावनी दिएको हो । गत साता यही विषयलाई लिएर नेटो नेताहरु र फिनल्याण्ड तथा स्वीडेनका विदेशमन्त्रीबीच छलफल भएको थियो । आगामी जुनमा फिनल्याण्ड र स्वीडेनको नेटो सदस्यताका विषयमा छलफल हुने सम्भावना रहेको बताइएको छ ।

रुसी चेतावनीलाई फिनल्याण्ड र स्वीडेनले गम्भीर रुपमा लिएका छन । हाल नेटोमा सामेल देशहरुको संख्या ३० रहेको छ । युक्रेनमा युद्ध थाल्नु अघिसम्म रुसले नेटो सदस्य संख्या बिस्तार गर्न नहुने माग गरेको थियो । रुसले युक्रेनमा आक्रमण गरेपछि असंलग्न नीति लिदै आएका स्वेडेन र फिनल्याण्डमाथि नेटो सदस्यताका लागि दबाव बढेको छ ।