२६ बैशाख २०८१, बुधबार
Follow Us

ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती मनाउने तयारी

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७८, बुधबार १४:१६

लन्डन। लन्डनको मुटु भनिने ट्राफल्गर स्क्वारमा आयोजना हुने यस वर्षको बुद्धजयन्ती कार्यक्रमको तयारीबारे आयोजक र दूतावासबीच छलफल भएको छ।

मंगलबार अपरान्ह बुद्धजयन्ती कार्यक्रम आयोजक बुद्ध फाउन्डेसन यूके र दूतावासका अधिकारीहरुबीच लन्डनस्थित नेपाली दूतावासमा कार्यक्रमको स्वरुप, तालिका, विशिष्ट अतिथिको निमन्त्रणा लगायतका विषयमा छलफल भएको हो।

दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनए आइसीसी समेतको सहकार्यमा बुद्ध फाउन्डेसन यूके र कपिलवस्तु समाज यूकेका तर्फबाट ट्राफल्गर स्क्वायरमा वर्षेनी आयोजना गरिंदै आएको कार्यक्रम यसपटक आगामे मे २२ तारिखलाई निर्धारित छ।

त्यसअवसरमा फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले विगतका वर्षमा सम्पन्न कार्यक्रमहरुको ब्रिफिङसहित आसन्न कार्यक्रमको तयारीबारे राजदूत ज्ञानचन्द्र आचार्य र दूतावासका अधिकारीहरुलाई जानकारी गराएका थिए।

दूतावाससहित बेलायतको सिंगो नेपाली समुदायको सहयोग र सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न हुँदै आएको उल्लेख गर्दै उनले यसपटक पनि त्यस्तै सहकार्य र सहयोगको अपेक्षा राखेको बताए।

राजदूत आचार्यले बुद्धजयन्ती कार्यक्रमको सफलताको लागि दूतावासका तर्फबाट आवश्यक सबै सहयोगको आश्वासन दिलाएका थिए।

दूतावाससंगको छलफलमा फाउन्डेसनका तर्फबाट अध्यक्ष दीपक श्रेष्ठको मा उपाध्यक्षद्वय सचिन श्रेष्ठ र प्रसुना कंडेल, महासचिव लक्ष्मी राई ‘लारा’, सांस्कृतिक सचिव सुर्य गुरुङ, आइटी संयोजक सन्तोष मण्डल, सोसल मिडिया संयोजक दीपक मैथाने मगर तथा सदस्यहरु अर्चना गुरुङ र अञ्जना थापा लगायतको सहभागिता थियो।

दूतवासबाट राजदूत आचार्यसंगै उपनियोग प्रमुख रोशन खनाल र द्वीतीय सचिव रामबाबु नेपाल पनि छलफलमा सहभागी थिए।

यस वर्षको बुद्धजयन्ती कार्यक्रममा लन्डन मेयर सादिक खानलाई पनि निमन्त्रणा गरिएको छ। कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन आग्रह गर्दै दूतावासबाट उनलाई निमन्त्रणा पठाइएको जनाइएको छ।

दूतावासले विगतमा जस्तै बेलायतस्थित विभिन्न मुलुकका राजदूत एवम् कूटनितिज्ञहरुलाई पनि कार्यक्रमको निम्तो पठाइसकेको छ।

त्यस्तै, कार्यक्रमको लागि नेपालबाट एक बौद्ध धर्मगुरु रिम्पोचेलाई पनि आमन्त्रण गरिने भएको छ।

कार्यक्रमका संयोजक ह्यारी गुरुङले बेलायतस्थित सम्पूर्ण नेपाली संघसंस्था एवम् सिंगो समुदायलाई कार्यक्रममा सक्दो सहयोग र सहभागिताका लागि आव्हान गरेका छन् ।

विश्वमाझ बुद्धको जन्मस्थल लुम्बिनीसम्बन्धि भ्रमहरु चिर्दै बुद्धको शान्ति सन्देश प्रचारप्रसार गर्नका साथै अन्तरराष्ट्रिय जगतमा नेपाली कला, संस्कृति र पर्यटन समेतको प्रवर्द्धनको लक्ष्य राखेर हरेक वर्ष यो कार्यक्रम गरिंदै आएको छ।

कार्यक्रममा बुद्ध धर्मगुरुहरुबाट मन्त्रोच्चारण र प्रवचन, नेपाली कला, संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रम, नेपालको पर्यटन प्रवर्द्धनका लागि लिफलेट वितरण लगायतका गतिविधि समावेश रहनेछन्।