१५ बैशाख २०८१, शनिबार
Follow Us

पत्रकार भगीरथ योगी ‘नेपाल लाइभ समूह’मा आबद्ध

नेपालब्रिटेन डट कम्
१ बैशाख २०७९, बिहीबार १५:०६

लण्डन । बीबीसी विश्व सेवाका पूर्वपत्रकार भगीरथ योगी ‘नेपाल लाइभ समूह’मा आबद्ध भएका छन्। हेल्प पब्लिकेशन प्रालिद्वारा प्रकाशनमा रहेका नेपाल लाइभ डटकम, नेपाल लाइभ टुडे (अंग्रेजी) र स्वास्थ्य खबरपत्रिका (अनलाइन र प्रिन्ट)को ग्रुप एडिटर (समूह सम्पादक)को जिम्मेवारी योगीलाई दिइएको हो।

योगी बीबीसी नेपाली सेवामा मात्रै दुई दशकभन्दा बढी आवद्ध भएर सेवा निवृत्त भएका हुन्। उनले काठमाडौं र लण्डन दुवै शहरहरुबाट बीबीसीमा आवद्ध भइ पत्रकारिता गरेका छन्। नेपाल र बेलायतमा गरी तीन दशक पत्रकारिताको अनुभव संगालेका योगीले बीबीसीका अतिरिक्त नेपाली टाइम्स, नेपाल न्यूज, स्पटलाइट लगायतका सञ्चार संस्थाहरुमा काम गरिसकेका छन्।

योगीले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन्। उनले बेलायतबाट विकास व्यवस्थापन बिषयमा एमएस्सी समेत गरेका छन्।

नेपाली नयाँ वर्षको अवसरमा नयाँ जिम्मेवारी सम्हाल्दै योगीले नेपालको एक अग्रणी सञ्चार संस्थामा आवद्ध भएर पत्रकारितलाई निरन्तरता दिन पाउँदा आफू खुसी भएको बताए। आफूले हासिल गरेको सीप र अनुभवलाई नेपाली पत्रकारिताको विकासमा प्रयोग गर्ने अवसरका रुपमा यसलाई लिने योगीले उल्लेख गरे।

‘नेपाली मिडिया अहिले चुनौतीपूर्ण, तर उत्साहजनक विकासक्रमबाट गुज्रिरहेको छ। अनलाइन मिडियाको विकास र मल्टिमिडिया सामग्रीहरुको बढ्दो प्रयोगले चुनौती र अवसर दुवै सिर्जना गरेको छ। यस परिस्थितिमा नेपालको एउटा अग्रणी मिडिया संस्थासँग आवद्ध हुन पाउँदा खुसी छु र व्यवसायीक रुपमा काम गर्न प्रतिबद्ध छु,’ योगीले भने।

हेल्प पब्लिकेशन प्रालिका अध्यक्ष अनिल न्यौपानेले पत्रकार योगीलाई संस्थामा स्वागत गर्न पाउँदा खुसी लागेको बताए। अध्यक्ष न्यौपानेले भने, ‘अन्तर्राष्ट्रिय समाचार संस्थासँग आवद्ध भएर काम गरिसक्नुसभएको छ। नेपालमा थप गुणस्तरीय पत्रकारिताको अभ्यास गर्न पत्रकारहरुलाई प्रेरित गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु।’ योगीको पत्रकारिता क्षेत्रको लामो अनुभवबाट नेपाल लाइभले पाठक वर्गको थप विश्वास आर्जन गर्दै गुणस्तीय पत्रकारिताको क्षेत्रमा नयाँ अध्याय रच्ने आशा पनि न्यौपानेले व्यक्त गरे।

न्यौपानेले योगीको अन्तराष्ट्रिय पत्रकारिता क्षेत्रमा रहेको साखको प्रशंसा गर्दै न्यौपानेले उनको छवि, मूल्य–मान्यतामा आधारित पत्रकारिताप्रतिको प्रतिबद्धता र नेपाली समाज र राजनीतिको गहिरो बुझाइजस्ता क्षमताबाट नेपाल लाइभ मात्र नभइ नेपाली पत्रकारिता जगत नै लाभान्वित हुने विश्वास व्यक्त गरेका छन्।