२४ बैशाख २०८१, सोमबार
Follow Us

बेंगलोरविरुद्ध हैदराबादको सहज जित

नेपालब्रिटेन संवाददाता
११ बैशाख २०७९, आईतवार ०४:३९

नयाँ दिल्ली । रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध सहज जितसँगै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति मुम्बईमा भएको खेलमा हैदराबाद ९ विकेटले विजयी भयो । ६९ रनको सामान्य विजयी लक्ष्य हैदराबादले ८ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍याे ।

हैदराबादका अभिषेक शर्माले सर्वाधिक ४७ रन बनाए । केन विलियम्सन १६ र राहुल त्रिपाठी ७ रनमा अविजित रहे । यसअघि टस हारेर ब्याटिङ गरेको बेंगलोर १६ ओभर १ बलमा सवै विकेट गुमाउदै ६८ रनमा समेटियो । बेंगलोरका सुयश प्रभुदेशाईंले सर्वाधिक १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

हैदराबादका मार्को ज्यानसन र टि नटराजनले ३-३ विकेट लिए । जितसँगै हैदराबाद ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा छ । बेंगलोर ८ खेलमा ५ मा जितसहित समान १० अंक बनाउदै चौथो स्थानमा छ ।

कोलकातामाथि गुजरातको जित
शनिबारको पहिलो खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्समाथि आठ रनको जित निकालेको छ । गुजरातले दिएको १५७ रनको लक्ष्य कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४८ रनमात्र बनाउन सक्यो । कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४८ रन बनाए । यस्तै, रिन्कु सिंहले ३५, वेन्कटेस ऐयरले १७ रनको योगदान गरे ।

गुजरातका मोहम्मद सामी, राशिद खान, यस दयलले समान दुई विकेट लिए । यसअघि मुम्बईमा टस जितेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५६ रनको योगफल तयार पार्‍यो । गुजरातका कप्तान हार्दिक पड्याले सर्वाधिक ६७ रन बनाए । यस्तै, डेविड मिलरले २७, रिद्धिमान साहले २५ रनको योगदान गरे ।

जितसँगै सात खेलबाट १२ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ । यस्तै, आठ खेलबाट ६ अंक जोडेको कोलकाता सातौं स्थानमा छ ।