चलचित्र उद्योग बाहिरबाट हेर्दा जति आकर्षण र ग्ल्यामरश देखिन्छ, यसको भित्री पाटो त्यति नै निर्मम र शोषणले भरिएको हुन्छ। यो यथार्थ कतै लुके/छिपेको छैन।
नेपाली चलचित्र क्षेत्रमा पनि यस प्रवृत्तिले गहिरो गरी जरा गाडेको छ। स्थापित भइसकेका कलाकारहरूलाई समेत आफ्नो पसिनाको पारिश्रमिक उठाउन सङ्घर्ष गर्नुपर्छ।
यही यथार्थ र कलाकार बन्ने सपना बोकेर गाउँबाट सङ्घर्ष गर्न काठमाडौं छिरेका एक पात्रको कथालाई निर्देशकिय आँखाबाट उतार्ने प्रयास गरेको छ चलचित्र ‘आइ एम जीत बहादुर’ ले।
हास्यकलाकार जीतु नेपालले मुख्य भूमिका निर्वाह गरेको यस चलचित्र नेपाली रजतपटमा आफ्नो भविष्य खोज्दै संघर्ष गरिरहेका हजारौं कलाकर्मीहरूको साझा ऐना समेत बनेको छ।
अभिनेता जीतु नेपाल पनि यस कुरा स्वीकार गर्छन्। उनले भनेका छन्, ‘यो कथा जीतु नेपालको मात्र नभएर चलचित्र क्षेत्रमा काम गर्ने सपना बोकेर आएका हरेक नवोदित कलाकारहरूको साझा भोगाइ हो।’
चलचित्र ‘आइ एम जीत बहादुर’ को सुरुवात नाटक मञ्चबाट हुन्छ। मुख्य पात्र जीत बहादुर नाटकलाई नै आफ्नो जीवन र सर्वस्व मान्छन्। तर, नाटकबाट उनले कुनै आर्थिक उपार्जन गर्न सकेका हुँदैनन्, न त उनी अभिनय बाहेक अन्य कुनै काम गर्न नै रुचि राख्छन्।
यता घरमा भने ठुली हुँदै गरेकी छोरी ज्योतीको भविष्यको चिन्ताले परिवार त्रसित छ। उनकी श्रीमती नीति र उमेर ढल्किँदै गएका बुवा जनकले जसोतसो परिवारको आर्थिक भार एक्लै धानिरहेका छन्।
पारिवारिक दबाब र आफ्नो सपनाको दोसाँधबीच एक दिन जीत बहादुर गाउँमा परिवार छोडेर सपनाको सहर काठमाडौंतर्फ प्रस्थान गर्छन्। तर, उनी जुन व्यक्तिको भरोसामा सहर पसेका हुन्छन्, ती व्यक्तिको दुई दिन अगाडि नै मृत्यु भइसकेको हुन्छ।
यस अप्रत्याशित घटनापछि सुरु हुन्छ जीत बहादुरको वास्तविक सङ्घर्ष। उनले आफ्नो जीविका चलाउन र चलचित्रमा भूमिका पाउन गरेका हण्डर र हन्ड्रडहरूलाई चलचित्रले देखाउन खोजेको छ।
चलचित्रमा जीतु नेपाल, वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा र बालकलाकार साहरा शर्मालगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।
अभिनयको पाटोलाई केलाउँदा, जीत बहादुरकी श्रीमतीको भूमिकामा रहेकी अभिनेत्री वर्षा राउतको काम निकै प्रशंसनीय छ। श्रीमानलाई अभिनेता बनाउनका लागि आफूले लगाएको सुन बेच्नु, गाउँको घर धितो राखेर पैसा निकाल्नु र उनलाई निरन्तर चलचित्रमा सङ्घर्ष गर्न प्रोत्साहन गर्नुजस्ता दृश्यहरूमा उनले निकै जीवन्त अभिनय गरेकी छन्।
यसैगरी, नाटक प्रशिक्षण दिने चरित्रमा देखिएका विजय बरालको एक संवाद निकै घतलाग्दो र अर्थपूर्ण छ। उनले भनेका छन्, ‘जो नाटकबाट सिनेमामा जान्छन्, ती फर्किँदैनन् वा फर्किन चाहँदैनन्।’
यसै संवादले नेपाली रङ्गमञ्चबाट चलचित्र उद्योगमा फड्को मारेका धेरै कलाकारहरूको वास्तविक भोगाइ र उनीहरूको मनोविज्ञानलाई दुरुस्तै प्रतिनिधित्व गर्छ। कलाकारले आफूसँग ‘रिलेट’ गर्न सक्छन्।
यद्यपि, मुख्य पात्रका रूपमा रहेका जीतु नेपालको अभिनय भने यस पटक औषत मात्र देखिन्छ। विगतमा आफ्ना प्रस्तुतिहरूबाट दर्शकलाई हँसाउन र बाँध्न सफल जीतु यस चरित्रमा भने आफ्नो अभिनयको जादु देखाउन कताकता चुकेका छन्।
उनको चरित्रमा हुनुपर्ने गहिराइ र भावुकता कतिपय ठाउँमा फितलो महसुस हुन्छ। अर्कोतर्फ, अभिनेत्री प्रियंका कार्कीको कतिपय दृश्यहरूमा अभिनय निकै अतिरञ्जित र भड्किलो लाग्छ।
चलचित्रको सबैभन्दा कमजोर पाटो यसको पटकथा र पात्रहरूको चित्रण हो। कथामा अभिनेत्री वर्षा राउतको पात्रलाई अत्यन्तै कमजोर र परनिर्भर रूपमा प्रस्तुत गरिएको छ।
२१ औं शताब्दीको चलचित्रमा पनि एउटी महिलाले आफ्नो व्यक्तिगत निर्णय लिनका लागि समेत पुरुषमाथि नै निर्भर हुनुपर्ने देखाइनु यस चलचित्रको कमजोर र पुरातनवादी सोचको उपज हो।
कतिपय दृश्यहरूले दर्शकलाई भावुक बनाउन सफल भए पनि धेरैजसो ठाउँमा समावेश गरिएका अनावश्यक दृश्य र खुकुलो सम्पादनका कारण दर्शकहरू मुख्य कथासँग एकाकार हुन सक्दैनन्।
विशेषगरी चलचित्रको क्लाइमेक्समा निर्देशक नराम्रोसँग चिप्लिएका छन्। कथा एउटा लयमा बगिरहेको बेला अचानक विना सन्दर्भ कलाकारलाई अवार्ड वितरण गर्ने जस्तो दृश्य ल्याएर उनलरे दर्शकको संवेदनामाथि धावा बोलेका छन्।
यस्ता दृश्यहरूका कारण दर्शकले चलचित्रको अन्त्यसँग आफूलाई जोड्न पाउँदैनन्।
समग्रमा भन्नुपर्दा, ‘आइ एम जीत बहादुर’ नेपाली चलचित्र उद्योगकै एउटा महत्त्वपूर्ण विषयवस्तुमाथि बनेको चलचित्र हो। यसले बोकेको मुद्दा बलियो छ। तर फितलो प्रस्तुतिकरणका कारण यो उत्कृष्ट चलचित्र बन्नबाट बञ्चित बनेको छ।
मुख्य अभिनेता जीतु नेपाल चलचित्र निर्माण र यसको प्रमोशनमा धेरै हतारिएका देखिन्छन्।उनले चलचित्रको आत्मा अर्थात् यसको लेखन, स्क्रिनप्ले र निर्देशनमा पर्याप्त समय नै दिन सकेनन्।
विषयवस्तु राम्रो भएर मात्र पुग्दैन, त्यसलाई पर्दामा उतार्न आवश्यक पर्ने प्राविधिक परिपक्वता र कसिलो पटकथाको पनि उत्तिकै भूमिका हुन्छ भन्ने कुरा यस चलचित्रले देखाउँछ।
नयाँ शैली र सङ्घर्षको कथा हेर्न चाहनेका लागि यो चलचित्र एउटा विकल्प हुन सक्छ, तर उत्कृष्ट सिनेमाको अपेक्षा राख्ने दर्शकका लागि भने यसले केही निराशा भने अवश्य पैदा गर्छ।