२१ बैशाख २०८१, शुक्रबार
Follow Us

काँग्रेसको घोषणापत्र गालीगलौजको पुलिन्दा, पागलहरूको प्रलाप: ओली

नेपालब्रिटेन संवाददाता
१३ बैशाख २०७९, मंगलवार ०९:३३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्र राजनीतिक दस्ताबेज नभएर गालीगलौजको पुलिन्दामात्र भएको टिप्पणी गरेका छन् । २३ औँ मनमोहन स्मृति दिवसको अवसरमा आज (मंगलबार) आयोजित कार्यक्रममा अध्यक्ष ओलीले काँग्रेस घोषणापत्रका दर्जनौँ ठाउँमा एमाले र व्यक्तिगत रूपमा आफूमाथि गालीगलौज गरिएको भन्दै त्यसलाई पागलहरूको प्रलाप भनेका छन् ।

अध्यक्ष ओलीले भने, ‘त्यो कुनै राजनीतिक दस्ताबेज नै होइन, पागलहरूको प्रलाप हो । घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण छैन, मुख छाड्ने र दर्जनौँ ठाउँमा नाम किटेर धारे हात लाइएको छ । बाटो किन चौडा बनाएको ? रेल किन ल्याएको ? पाइपलाइन किन चाहियो ? यस्तै यस्तै आरोप लगाएको पनि कुनै राजनीतिक दस्ताबेज हुन्छ ?’

गठबन्धन नगर्दा कतै पनि जित्न नसक्ने अवस्थामा पुगेको काँग्रेसले कम्युनिस्ट पार्टी कब्जा गर्न नसकेपछि भागेका प्रचण्ड माधवहरुको वैशाखी टेकेर अघि बढ्न खोजेको अध्यक्ष ओलीको आरोप छ । तत्कालीन अवस्थामा नेकपामा पुष्पलालविरुद्ध केशरजंग रायमाझीहरूले प्राविधिक बहुमत देखाएर हटाएजस्तै आफूमाथि प्रचण्ड-माधवले आफैँले दिएको बहुमत देखाएर षड्यन्त्र गरेको बताए ।

ओलीले भने, ‘हिजो पनि पुष्पलालविरुद्ध रायमाझीहरुले त्यसै गरे,पछि काँग्रेसले रायमाझीहरुको साथ पनि लियो । अहिले पनि नेकपाका रायमाझीहरू (प्रचण्ड-माधव) लाई बोकेर काँग्रेस हिँडेको छ ।

एमाले अध्यक्ष ओलीले काँग्रेसको राजनीति भनेकै एमालेले गरेको विकासका कामको विरोध गर्ने मात्र रहेको बताए । गठबन्धनको एकताको आधार कुनै राजनीतिक नभएर एमालेको आरिस मात्र रहेको ओलीको भनाइ छ ।