१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आर्थिक संकटमा पनि एनआरएनकै भर, चैतमा भित्रियो साढे ९३ अर्ब

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७९, बुधबार १८:२६

लण्डन । आयातको उच्च वृद्धिले विदेशी मुद्रा सञ्चिति घटेर अर्थतन्त्रमा समस्या देखिएका बेला फागुनदेखि सुरू भएको रेमिटेन्स बढ्ने क्रम चैतमा पनि जारी छ।

वैदेशिक रोजगारमा गएका नेपालीहरूले चैत महिनामा ९३ अर्ब ५५ करोड रूपैयाँ बराबरको विदेशी मुद्रा नेपाल पठाएको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ। यसअघि फागुनमा ९१ अर्ब ७ करोड रूपैयाँ भित्रिएको थियो। मुलुक भित्रने रेमिटेन्स लगातार बढेको दोस्रो महिना हो।

माघ महिनामा ७१ अर्ब रेमिटेन्स आएको थियो। त्यसको तुलनामा फागुनको रेमिटेन्स प्रवाह २८ प्रतिशत बढेको थियो भने फागुनको तुलनामा चैतमा वृद्धिदर भने केही सुस्तिएको छ। चैतमा करिब ३ प्रतिशतले रेमिटेन्स बढेको छ। मासिक आधारमा चैतमा भित्रिएको रेमिटेन्स यो आर्थिक वर्षकै सबभन्दा बढी हो।

यो वर्षको सुरूदेखि नै रेमिटेन्स आम्दानी ७० देखि ८० अर्बको बीचमा रहँदै आएको थियो। फागुन र चैतमा मासिक ९० अर्बभन्दा बढी भित्रिनु सकारात्मक संकेत हो। यसले वैदेशिक मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पार्नेछ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय स्तरमै आर्थिक गतिविधि ठप्प भएपछि चालू वर्षको सुरूदेखि रेमिटेन्स आम्दानी प्रभावित छ। विदेशी मुद्रा सञ्चितिलगायत देशको समग्र अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको रेमिटेन्स घट्नुले आर्थिक समस्या उत्पन्न हुनसक्नेमा चिन्ता व्यक्त गरिँदै आएको छ। यही बेला रेमिटेन्स प्रवाहमा सुधार देखिनु राहतको विषय भएको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालू वर्ष साउनमा करिब ७६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। यो अघिल्लो आर्थिक वर्षको अन्तिम महिना ९असार० को तुलनामा १८ प्रतिशत कम हो।

त्यसलगत्तै भदौमा रेमिटेन्स आय करिब ८० अर्ब र असोजमा अलिकति बढेर ८४ अर्ब पुग्यो। असोजपछि भने अहिलेसम्म ८० अर्ब नाघ्न सकेको थिएन। राष्ट्र बैंकका अनुसार कात्तिकदेखि माघसम्म ७० देखि ८० अर्बको बीचमा तलमाथि भइरहेको थियो।

कात्तिकमा ७३ अर्ब भित्रिएकोमा मंसिरमा अलिकति बढेर ७६ अर्ब पुग्यो। त्यसपछि पुसमा फेरि अलिकति बढेर ७९ अर्ब पुग्यो। माघमा भने ह्वात्तै घटेर जम्मा ७१ अर्ब भित्रिएको थियो। यो चालू वर्षकै सबभन्दा कम हो।

पछिल्ला महिना रेमिटेन्समा आएको गिरावटको शृंखला वैदेशिक रोजगारमा जानेहरूले लिने श्रम स्वीकृतिको तथ्यांकमा पनि देखिन्छ।

आर्थिक वर्षका सुरू महिनामा नयाँ श्रम स्वीकृति लिने वा पुरानो स्वीकृति नवीकरण गर्नेहरूको संख्या घटेको थियो। केही महिनायता भने श्रम स्वीकृति र नवीकरण दुवै संख्या बढेको देखिन्छ।