५ भाद्र २०८२, बिहीबार
Follow Us

कैलाली कारागार छानबिन प्रतिवेदन : आन्तरिक मतभेदका कारण झडप

नेपालब्रिटेन संवाददाता
५ भाद्र २०८२, बिहीबार ०५:२६

कैलाली । कैलाली कारागारमा भएको झडपको घटना छानबिन गर्न गठित समितिले घटनाबारे अनुसन्धान गरी प्रतिबेदन तयार पारेको छ । उक्त समितीले कारागारको आन्तरिक प्रशासनकाबीच भएको मतभेदका कारण झडप भएको ठोस निष्कर्ष निकालेको छ । उक्त घटनाको छानबिन गर्न गठित समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार आन्तरिक प्रशासनमा मतभेद सिर्जना भई घटना भएको हो ।

सो समितीले घटनास्थलको अध्ययन गरी घाइते कैदीबन्दी, कारागारको वस्तुस्थिति, सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी, प्रशासकसँग कुराकानी गरुरी प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा बन्दीगृहभित्र रहेको ‘ए ब्लक’ र ‘बी ब्लक’ बीचको आन्तरिक प्रशासनबीच मतभेद सिर्जना भएको उल्लेख गरिएको छ ।

घटनाको थप तथ्य बाहिर ल्याउन विशेषज्ञ सहितको उच्चस्तरीय छानबिनको आवश्यकता देखिएको जोशीको भनाइ छ । घटनाबारे अनुसन्धान गर्न समितिलाई १० दिनको समय दिइएकामा अध्ययन प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाएको हो ।

गत साउन २३ गते कारागारमा कैदीबन्दीबीच झडप हुँदा एकजनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । घटनापछि सरकारले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई फिर्ता बोलाएर कृष्णप्रसाद लम्साललाई खटाएको र कारागार शाखा प्रमुखमा पनि नयाँ व्यक्ति खटाइएको छ ।

धेरै पढिएको