८ जेष्ठ २०८१, मंगलवार
Follow Us

विश्वका टप ५० विश्वविद्यालयहरूबाट स्नातकले बेलायतमा २ बर्षको कामदार भिसा पाउने

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७९, सोमबार १८:३१

लण्डन । यूके बाहिरका विश्वका शीर्ष ५० विश्वविद्यालयहरूबाट स्नातक गरेकाहरुले बेलायतमा काम गर्न विशेष प्रकारको भिसाको लागि आवेदन दिन सक्षम हुने भएका छन् । स्नातक वा मास्टर डिग्री भएकाहरु दुई वर्षको कामदार भिसाका लागि योग्य हुनेछन् भने उनीहरूको परिवारलाई ल्याउन अनुमति दिइनेछ।

पीएचडी भएका आवेदकहरूले तीन वर्षसम्म बस्नका लागि आवेदन दिन सक्नेछन्। यो योजना अन्तरगत विगत पाँच वर्षमा डिग्री प्राप्त गरेकाहरुले रोजगारको अफर वा स्पोन्सरविना नै भिसाका लागि आवेदन दिन सक्ने भएका छन् ।

सरकारले टाइम्स हायर एजुकेशन वर्ल्ड युनिभर्सिटी र्यांकिंग, क्युएस वर्ल्ड युनिभर्सिटी र्यांकिंग र विश्व विश्वविद्यालयहरूको एकेडेमिक र्यांकिंगलाई कुन कुन विश्वविद्यालयहरू योग्य छन् भनी निर्णय गर्न बेन्चमार्कको रूपमा प्रयोग गर्नेछ।

होम अफिसको वेबसाइटमा प्रकाशित विश्वविद्यालयहरुको सुचीमा सबैभन्दा धेरै अमेरिकाका विश्वविद्यालयहरु रहेका छन् । तीनवटा युरोपियन युनियनभित्रका रहेका छन् ।

आवेदकहरूले अङ्ग्रेजीको बी वान मध्यम स्तर प्रमाणित गर्नुपर्नेछ । होम अफिसको पृष्ठभूमि परीक्षण पास गर्नुपर्नेछ । त्यस्तै ७१५ पाउण्ड शुल्क तिर्नुपर्छ भने बेलायतमा एक वर्षभन्दा कम समय बस्न चाहनेहरूले कम्तिमा १२७० पाउण्ड रकम देखाउनुपर्छ।