२७ श्रावण २०८२, मंगलवार
Follow Us

बेलायत आइ पुगे कुलमान घिसिङ

नेपालब्रिटेन संवाददाता
२६ श्रावण २०८२, सोमबार २३:२१

लन्डन – अमेरिकाको दुइ साता लामो भ्रमण सकेर नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा अभियन्ता कुलमान घिसिङ सोमबार लन्डन आइपुगेका छन्।

उनलाई हिथ्रो विमानस्थलमा एनआरएनए युके, तमु धिं युके लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए।

उनी २४ अगष्टमा तमु धीं युकेले आयोजना गर्न लागेको १६ औं नेपाली मेलामा विशिष्ट पाहुनाको रुपमा सहभागी हुनेछन् । त्यस्तै उनले स्कटल्याण्डको भ्रमण गर्नुका साथै सोसाइटी अफ नेप्लिज इन्जिनियर्स युके लगायतका संघसंस्थाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने छन्। उनी एनआरएनए यूकेको कार्यक्रममा सहभागी हुने छन् । यसै बीच उनले युरोपका केही मुलुकहरुको पनि भ्रमण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

यस अघि अमेरिकामा रहंदा उनले टेक्सास, मिशिगन, वाशिंगटन डिसी लगायतका राज्यमा विभिन्न संघसंस्थाद्वारा आयोजित कार्यक्रममा सहभागी भै प्रवासी नेपाली समुदायसंग अन्तरक्रिया गरेका थिए। न्युयोर्कमा उनी लगायत अन्य अभियन्ताहरुलाई हामी नेपाली ग्लोबल संस्थाले ‘ग्लोबल हिरो अवार्ड’ ले सम्मान गरेको थियो। उनले न्युयोर्कमै अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्सको १८ औं सम्मेलनलाई सम्बोधन गरेका थिए। त्यस्तै उनले बोस्टनमा नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीहरुसंग पनि छलफल गरेका थिए।

जम्मा चार महिना मात्रै कार्यकाल बाँकी रहेका घिसिङलाई नेपाल सरकारले गत चैत्र महिनामा उनको पदबाट बर्खास्त गरे पछि उनले केही समय काठमाडौँमै भेटघाटमा बिताएका थिए। त्यस पछि उनले गत महिना बहराइनबाट ‘उज्यालो नेपाल अभियान’ सुरु गर्ने घोषणा गरेका थिए।

नेपालमा लोडशेडिंग अन्त्य गरेर उनकै नेतृत्वमा विद्युत प्राधिकरणले भारत र बंगलादेशलाई बिजुली निर्यात गर्न सुरु गरेको छ। उनले बत्तीको उज्यालोले मात्रै नेपालीका सबै समस्या समाधान नहुने बताउंदै सुशासन सहित समृद्ध नेपाल बनाउन र देशमा व्याप्त निराशा अन्त्य गरी आशाको संचार गर्न उज्यालो नेपाल अभियान सुरु गरिएको बताउँदै आएका छन्।

धेरै पढिएको