२८ असार २०८२, शनिबार
Follow Us

एनआरएनए नागरिकता चाँडै टुङ्गो लाग्छ : प्रधानमन्त्री देउवा (वक्तव्यको पूर्णपाठ)

नेपालब्रिटेन डट कम्
२ असार २०७९, बिहीबार १०:४७

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूलाई नागरिकता दिनेबारेमा सरकार चाँडै नै टुङ्गोमा पुग्ने बताएका छन्। गैरआवासीय नेपाली संघ एनआरएनएले आयोजना गरेको नागरिकता, लगानी तथा वैदेशिक रोजगार सम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘तपाईंहरूले उठाउनुभएका जायज मागहरू, नागरिकताका विषयहरूमा सरकार यथाशीघ्र टुङ्गोमा पुग्नेछ’ देउवाले भने ‘हामी त्यसमा प्रतिवद्ध छौं र गैरआवासीय नेपालीले उठाएका जायज माग पूरा गर्नेछौं।’

कार्यक्रममा बोल्दै उनले भूकम्प प्रभावितहरूलाई पुर्‌याएको सहयोगको पनि प्रशंसा गरे। त्यस्तै उनले कोरोना संक्रमणका बेला गैरआवासीय नेपालीले गरेको योगदानका लागि पनि उनले धन्यवाद दिए।

‘नेपाल र नेपालीलाई अप्ठ्यारोका बेला गैर आवासीय नेपालीले गरेको सहयोगका लागि नेपाल सरकार धन्यवाद व्यक्त गर्दछ’ उनले भने।

‘तपाईंहरू संसारको जुनसुकै कुनामा भए पनि नेपालको लागि ‘दूत’ हुनुहुन्छ’ उनले भने ‘आफ्नो रोजगारीका लागि जहाँ पुगे पनि तपाईंहरूले नेपाल र नेपालीको गरिमा बढाइरहनुभएको छ।

उनले गैरआवासीय नेपालीलाई देशमा लगानी गर्न पनि पटक पटक आग्रह गरे।

‘तपाईंहरूले विदेशमा आर्जन गरेको पूँजी र सिप अब नेपालमा लगानी गर्नुहोस्’ उनले भने ‘मातृभूमिप्रतिको दायित्व पूरा गर्नुहोस्। बचतपत्र तथा डलर खाता खोल्नुहोस्।’

वक्तव्यको पूर्णपाठ

गैर आवासीय नेपाली संघद्वारा आयेाजित कार्यशाला गेाष्ठीकेा समुद्‍घाटन समारोहमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको सम्बोधन
(२०७९ असार २)

गैरआवासीय नेपाली संघका अध्यक्ष लगायत पदाधिकारी साथीहरू,
स्वदेश तथा विदेशबाट यस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरू,
उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू !

१. गैर आवासीय नेपाली संघले आयोजना गरेको यो कार्यशाला गोष्ठीमा सहभागी हुन पाउँदा मलाई खुशी लागेको छ ।

२. विश्वभर छरिएर रहेका नेपालीहरूको हक, हित र अधिकारको संरक्षण र संवर्द्धनमा क्रियाशिल गैरआवासीय नेपाली संघ विदेशमा रहेका नेपालीहरूको साझा चौतारी र अभिभावक संस्था भएको हामी सबैलाई अवगत नै छ । यस संघले शुरुदेखि नै विश्वका विभिन्न मुलुकमा फरक फरक पेशा, इलम, व्यवसाय गरेर बसिरहेका नेपालीहरूबीच एकता, सद्‍भाव र पारस्परिक सहयोग अभिवृद्धिमा काम गर्दै आएको छ ।साथै विदेशमा बसेका नेपालीहरूको पूँजी, प्रविधि र उद्यमशीलतालाई मुलुकको विकास निर्माणका निमित्त उपयोग र परिचालन गर्ने कार्यमा प्रशंसनीय भूमिका निर्वाह गर्दै आइरहेको छ।

३. संघले‍ २०७२ सालको महाभूकम्पको बेलामा भूकम्प प्रभावितहरूलाई राहत प्रदान गर्नेदेखि घरबास गुमाएकाहरूका लागि सुरक्षित आवास गृह निर्माण गर्न सहयोग पुर्‍याएको छ । साथै, संघले कोभिड-१९ को महामारीले हाम्रो मुलुकलाई आक्रान्त पारेको बेलामा स्वास्थ्य उपकरण उपलब्ध गराई यसको रोकथाममा सघाउ पुर्‍याएको कुरा हामी सबैको सम्झनामा ताजै छ । यसरी नेपाल र नेपालीलाई अप्ठ्यारो परेको बेला गैर आवासीय नेपाली संघबाट प्राप्त साथ र सहयोगप्रति नेपाल सरकार धन्यवाद व्यक्त गर्न चाहन्छ ।

४. संसारभरि छरिएर रहनु भएका नेपालीहरु नेपालका गैर आवासीय दूतहरु हुनुहुन्छ। तपाईंहरूले विदेशमा नेपाली भाषा, साहित्य, संस्कृति, परम्परा र कलाकृतिको प्रचार-प्रसार गर्न र भावी पुस्तामा हस्तान्तरण समेत गर्न महत्त्वपूर्ण सेतुको काम गर्दै आउनुभएको छ । विदेशीहरूमाझ नेपालको पर्यटकीय सम्पदा र मौलिक विशेषतालाई प्रवर्द्धन गर्न समेत उल्लेखनीय भूमिका खेल्दै आउनु भएको छ । यसलाई आगामी दिनमा पनि निरन्तरता दिँदै विदेशी भूमिमा नेपाली माटो र नेपाली संस्कृतिलाई‍ प्रवर्द्धन गर्न तपाईंहरु सबैले आफ्ना क्रियाकलापहरूलाई थप सशक्त रूपमा अघि बढाउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु।

५. आज विश्वभर छरिएर रहेका नेपालीहरूले विदेशमा नेपालको पहिचान र गरिमा बढाउनुका साथै विभिन्न पेशा, व्यवसायमा संलग्न रही सम्बन्धित देशको विकास निर्माणमा समेत योगदान पुर्‍याएका छन् । अब विदेशमा आर्जन गरेको पूँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई मुलुकको विकासको लागि उपयोग गर्न म यस संस्थामा आबद्ध सबै गैर आवासीय नेपाली साथीहरूलाई यसै मञ्चबाट आग्रह गर्न चाहन्छु ।

६. नेपाल सरकारले संघको स्थापना कालदेखि नै संघसँग सहकार्य गर्दै आएको छ। तपाईंहरुले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश गर्नका लागि दिनुभएका अधिकांश सुझावहरूलाई मनन गरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा गैरआवासीय नेपालीहरु लक्षित विभिन्न कार्यक्रमहरु घोषणा गरेको छ। आशा छ, उक्त नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनबाट मुलुकको आर्थिक विकासमा तपाईंहरूको उपस्थिति र भूमिका अझ बलियो हुनेछ ।

७. आगामी आर्थक बर्षको बजेट वक्तव्यमा नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा ५ करोड रुपैयाबाट घटाएर २ करोड रुपैया कायम गरेको छ । त्यस्तै १० करोड सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाइएको छ ।
८. यसै गरी धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानूनी व्यवस्था मिलाइने कुरा समेटिएको छ। वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्कासनमा दश प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था पनि गरिएको छ । यसबाट गैर- आवासीय नेपालीहरूलाई नेपालमा विभिन्न माध्यमले लगानी गर्न उत्प्रेरित गर्ने अपेक्षा मैले लिएको छु।

९. यसैगरी वैदेशिक लगानीसम्बन्धी कानून तथा प्रक्रियामा सुधार गर्ने, उद्योग स्थापनाको लागि आवश्यक पर्ने जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने साथै उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लिजमा दिन सकिने व्यवस्था मिलाउने विषय पनि बजेटमा समेटिएको छ। साथै, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष मार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय पनि भइसकेको छ।

१०. हालै नेपाल सरकारले विदेशमा बसोबास गरिरहेका नेपालीहरुलाई नेपाली बैंकमा डलर खाता खोल्न सहज गरेको छ। साथै, विदेशमा रहेका गैर आवासीय नेपालीलाई लक्षित गरी यही जुन १ तारिखदेखि नेपाल राष्ट्र बैंकले आकर्षक ब्याजदर दिने गरी वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको छ। यो तपाईंहरुलाई पनि फाइदा हुने र नेपालको अर्थतन्त्रलाई पनि बलियो बनाउन सहयोगी हुने हिसाबले अघि बढाइएको कार्यक्रम हो । यस अवसरमा म संसारभरि रहेका नेपालीहरुलाई मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न, डलर खाता खोलेर तथा बचत पत्र किनेर फाइदा उठाउन अपिल गर्दछु।

११. गैर आवासीय नेपालीहरूको नेपाल आवागमनमा सहजीकरणदेखि लिएर लगानी र सम्पत्तिको संरक्षण गर्ने सम्मका काममा सरकारले आफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने नै छ ।

१२. म एकपल्ट पुनः आज यसै मञ्चबाट संसारभरि फैलिएर रहेका प्रवासी नेपालीहरुलाई आफूसँग रहेको सीप, पूँजी र अनुभव नेपालको विकासमा लगाउन आह्वान गर्दछु। तपाईंहरुले विदेशमा थुप्रै विकास देख्नु भएको छ, आउनुहोस् हातेमालो गरौँ, नेपाललाई पनि तपाईं हाम्रै पालामा एउटा सभ्य, समुन्नत र विकसित मुलुक बनाउ ।

१३. अन्त्यमा गैर आवासीय नेपाली संघको उत्तरोत्तर प्रगतिको कामनाका साथ संघले आयोजना गर्न लागेको गोष्ठीको पूर्ण सफलताको कामना गर्दै मेरो मन्तव्य यहीँ टुङ्ग्याउँछु ।

धन्यवाद !

जय नेपाल !

धेरै पढिएको