१६ असार २०८१, शनिबार
Follow Us

देउवा एकलौटी अघि बढेको कोइराला पक्षको निष्कर्ष

नेपालब्रिटेन संवाददाता
१६ असार २०७९, बिहीबार १३:२३

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको निष्कर्ष निकालेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको कोइराला पक्षको बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरित एकलौटी रुपमा अघि बढिरहेको निष्कर्ष निकालेको हो ।

भेलामा सहभागी सहमहामन्त्री जीवन परियारका अनुसार पार्टीमा कुनै सरसरल्लाह नगर्ने र भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा देउवाले एकलौटी गरेका हुन् । पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिवद्धता पूरा नगरेको कोइराला पक्षको आरोप छ । भ्रातृ संस्थामा नियुक्त गर्दा देउवाले आफूखुसी नियुक्ति गरेका थिए ।

भेलामा को-को सहभागी ?
सो भेलामा कोइरालासहित पार्टी महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडू, डा चन्द्र भण्डारी, बलबहादुर केसी, जगदीशनरसिंह केसी, डा.रामशरण महत, सञ्जय गौतमलगायत नेता सहभागी छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले शुक्रबार आफूपक्षीय भेला राखेका हुन् । कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र केन्द्रीय विभागहरू गठन भइसक्नुपर्ने विधानमा व्यवस्था छ । कांग्रेसको १४औं महाधिवेशन सकिएको ६ महिना पूरा भएको छ । तर, सभापति देउवाले विधानमा उल्लेख भएका २८ वटा विभाग गठन गरेका छैनन् ।