१८ असार २०८१, सोमबार
Follow Us

नाडाल चोटका कारण विम्बल्डनबाट बाहिरिए

नेपालब्रिटेन संवाददाता
२४ असार २०७९, शुक्रबार ०३:४३

बाईस पटकका ग्राण्डस्लाम विजेता स्पेनिश खेलाडी राफाल नाडाल चोटका कारण विम्बल्डनबाट बाहिरिएका छन् । खेल्ने क्रममा आफ्नो शरीरमा चोट लागेका कारण आजको सेमिफाइनल खेल खेल्न नसक्ने जानकारी गराएपछि विम्बल्डन उपाधी नजिक पुगेका नाडालले खेल छोड्नु परेको छ ।

नाडालले आज अष्ट्रेलियन खेलाडी निक किरियससँग पुरुषतर्फको पहिलो सेमिफाइनल खेल खेल्ने तालिका रहेको थियो । गत बुधबार भएको क्‍वाटरफाइनल खेलमा नाडालले अमेरिकन खेलाडी टेलर फ्रिट्जसँग सामना गर्दा नाडालको पेटमा र खुट्टामा चोट लागेको थियो । चोटका कारण उनले दोस्रो सेटमा मेडिकल टाइम आउट सम्म लिनुपरेको थियो ।

यस सिजनको अष्ट्रेलियन ‌ओपन र फ्रेन्च ओपनजस्ता दुई प्रतिष्ठित ग्राण्डस्लाम हात पारेका नाडालको विम्बल्डन जित्‍ने सपना चकनाचुर भएको छ । गएराती सम्पन्न महिलातर्फको सेमिफाइनलमा पहिलो पटक अरबी मुलकी ओन्स जाबेर फाइनलमा प्रवेश गरेकी छन् । तेस्रो बरियताकी ओन्स जाबेरले टाट्जाना मारियालाई २-१ को सेटमा पराजित गर्दै फाइनल पुगेकी हुन् ।

यता अर्को सेमिफाइनलमा भने काजकिस्तानकी एलिना रेबिकिनाले सिमोना हालेपलाई ६-३, ६-३ को सोझो सेटमा पराजित गर्दै पहिलो पटक फाइनल प्रवेश गरेकी छन् । पुरुषतर्फको एक मात्र सेमिफाइनल खेल भने आज साँझ खेलिंदैछ । सेमिफाइनलमा विश्व एक नम्बरका जोकोभिचले क्यामरुन नोरीसँग सामना गर्दैछन् ।