२६ बैशाख २०८१, बुधबार
Follow Us

सिट बाँडफाँटको अन्तिम टुङ्गो लाग्दैछ : अध्यक्ष दाहाल

नेपालब्रिटेन संवाददाता
१७ भाद्र २०७९, शुक्रबार ०९:५९

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताएका छन् ।

माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका लागि आज सुर्खेत आइपुगेका अध्यक्ष दाहालले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटमा गठबन्धनमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँटको सहमति नजिक पुगिएको बताए ।

गठबन्धन दलभित्र कुनै असहमति नभएको उल्लेख गर्दै उनले भने, ‘यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिन्छ । तर नेकपा (एमाले)सँग तालमेलको कुनै सम्भावना छैन । सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा होमिन्छौँ ।’ कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको उनले बताए ।

पत्रकार भेटघाटका क्रममा अध्यक्ष दाहालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन–३ बाटै चुनाव लड्ने बताए । नेकपा (एकीकृत समाजवादी)सँग एकताका लागि प्रयास भइरहेको उनको भनाइ थियो । निर्वाचनमा एउटै घोषणापत्र ल्याउन पहल भएको तर चुनाव चिह्न भने आ–आफ्नै हुने अध्यक्ष दाहालले बताए ।

समाजवादीसँग पार्टी एकता हुँदैछ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकताको प्रक्रिया अघि बढेको बताएका छन् । उनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने प्रयास पनि भइरहेको जानकारी दिए ।

आज सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौं ।’ केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना रहेको बताउँदै प्रचण्डले भने, ‘त्यहाँ घोषणापत्र एउटै हुने तिर पनि हाम्रो प्रयास भइराख्या छ ।’