२७ बैशाख २०८१, बिहीबार
Follow Us

बैंकक सम्मेलनः गुटभन्दा माथि नउठ्दा नेतृत्वमा देखिएन ‘मिलाप’

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७९, आईतवार ०३:४८

लन्डन । ‘मिलाप’ नाम दिइएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्रशान्त ९ औं क्षेत्रीय सम्मेलन थाइल्याण्डको बैंककमा सकिएको छ । मुख्यतः गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा नेतृत्वको लागि भएको लुछाचुडीका कारण संघभित्र भएको विभाजनमा मलम लगाउन संघको एशिया क्षेत्रीय संयोजक पारसमणि पोखरेलले ‘मिलाप’ को परिकल्पना गरेका थिए ।

‘मिलाप’ को परिकल्पनाबाट गैरआवासीय नेपाली संघको अभियान छोडेर बिचलनमा लागेकाहरुलाई समेत सो अभियानमा जोड्ने विश्वास गरिएको थियो । सम्मेलनमा संघका पूर्वअध्यक्षहरु डा. उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, देवमान हिराचन, कुमार पन्त, भवन भट्टको उपस्थिति रहने बताए पनि पूर्वअध्यक्ष मध्येका भवन भट्टमात्र सम्मेलनमा उपस्थित थिए । क्षेत्रीयस्तरको सम्मेलन भए पनि आयोजक भने गैरआवासीय नेपाली संघ नै थियो । संघको कार्यकारी नेतृत्वको हैसियतले अध्यक्ष कुल अचार्यको सो सम्मेलनमा मिलापको लागि कुनै पहल कदमी देखाएनन् । उल्टै गुठको बैठक समालेर मिलिनियम हिल्टन होटलमा रात बिताए । सम्मेलनमा उपस्थित संघका केही पदाधिकारीहरु समेत संस्थाको हित र मिलापमा केन्द्रीत हुनुको सट्टा समझमा मस्त थिए ।

संघको १८ वर्ष लामो इतिहासमा उनकै कार्यकालमा पूर्वअध्यक्षहरुले अघोषित रुपमा क्षेत्रीय सम्मेलन बहिस्कार गरिदिएपछि मिलाप जस्तो बन्न सकेन क्षेत्रीय सम्मेलन । सो सम्मेलनमा संघका महासचिव गौरीराज जोशीले कार्यक्रम अघोषित रुपमा बहिस्कार गरिदिए । जोशी संघभित्रको विवादकै कारणले निराश छन् ।

उनी संघको अभियानमा निरन्तरता दिने पक्षमा समेत छैनन् । संघका सबै पदाधिकारी एक ठाउंमा ल्याउन नसकेको नेतृत्वले चुइटिएर गएको पूर्वअध्यक्ष शेष घले समूहलाई समेत मिलापको बाटोमा ल्याउन सक्छ भन्ने कल्पना सम्म गर्न सकिन्न् । केन्द्रीय नेतृत्वले क्षेत्रले ल्याएको ‘मिलाप’ को अवधारणको स्वामित्व लिन सकेन् ।

क्षेत्रीय संयोजक पोखरेलको परिकल्पना र आयोजक राष्ट्र थाइल्याण्डको व्यवस्थापनमा संघको केन्द्रीय नेतृत्व उदासिन भइदिँदा सम्मेलनमा अपेक्षित रुपमा सबै पक्षको उपस्थिति रहन सकेन् । संघको अन्तरिक मिलापमा सम्मेलनपछि परे पनि क्षेत्रीय मुद्दामा भने सशक्त रुपमा स्थापित गर्न एशिया क्षेत्रका गैरआवासीय नेपालीहरु सफल भएका छन् ।

दोस्रो विश्वयुद्धको समयदेखि म्यानमार, मलेसिया, थाइल्यान्ड, सिंगापुर, फिजीलगायतका देशहरुमा रहेका करिव ६ लाख नेपाली मूलका पिपुल अफ नेपाली ओरजिन ( पिएनओ) हरुलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली परिचयपत्रको व्यवस्था गर्न यो सम्मेलनले नेपाल सरकारको पूर्णरुप ध्यानकर्ण बनाउन सफल भएको छ ।

प्रतिपक्ष दल नेकपा एमाले नेता डा. सूर्यप्रसाद पाठकले नेपालीहरुको पहिचानको लागि आवश्यक परिचयपत्र तत्काल व्यवस्थान गर्न सकिने विचार व्यक्त गर्दै ती नेपालीहरुको पहिचानको लागि सहयोग गर्ने प्रतिबद्धता सो सम्मेलनमा गरेका थिए ।

३० देशका ३ सयभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको सो सम्मेलनमा सम्मानित श्रम बजार, गैरआवासीय नेपाली नागरिकता, विदेशबाट नै मताधिकार, सामाजिक सुरक्षा, पिएनओ साथै महिला तथा युवालगायत संघले लामो समयदेखि पैरबी गर्दै आएका मुद्दाहरु र संघको संरचनागत सुधारको बारेमा केन्द्रित रहेको थियो ।

बिभिन्न चरणमा भएका कार्यक्रममा संघका केन्द्रीय अध्यक्षहरु कुल आचार्य, रविना थापा, डा. बद्री केसीको पटक पटकको संयुक्त प्रस्तुतिले सम्मेलनलाई फिक्का बनाएको थियो । सम्मेलनले एसिया प्रशान्त क्षेत्रमा बसोवास गर्ने युवा महिला तथा दोस्रो पुस्तालाई संघको मुलधारमा समाहित गर्दै विदेशमा रहेका बालबालिकाहरुलाई नेपाली भाषा, लिपी, संस्कार र संस्कृति सिकाउने प्रणसमेत गरेको छ ।

सम्मेलनले गैरआवासीय नेपालीहरुको लगानीलाई सुनिश्चित गर्नको लागि आवश्यक कानुनलाई समयाअनुकुल परिमार्जिन, आगामी निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन संशोधन, हाल वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि आवश्यक संयन्त्र बनाई सामाजिक सुरक्षा कोष, बिदेशमा भएका तथा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको ज्ञान, सीप, प्रविधि र अनुभव नेपालको सर्बाङ्गिण विकासमा योगदान हुने गरी सो को सहज प्रयोगको लागि आवश्यकल संयन्त्र निर्माण, संघले उद्धमशीलताको विकास गर्न बिद्यालयस्तरबाटै पढ्दै कमाउंदै जस्ता मौलिक कार्यक्रमहरु संचालनमा ल्याउने, मिलाप एसिया भेन्चरको स्थापना गरी नेपाली कोशेली उद्योगको स्थापना गरी नेपाली उत्पादनलाई अन्तर्राष्टिय बजारमा प्रवद्र्धन गर्ने जस्ता महत्वपूर्ण मुद्दाहरुलाई सशक्त रुपमा उठाउन सफल भएको छ ।

सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघले निरन्तर यस्ता क्षेत्रीय सम्मेलनको आयोजना गर्दै आएको छ । क्षेत्रीय सम्मेलनले संघलाई मार्ग दर्शन गर्नुको साथै गैरआवासीय नेपालीहरुका मागहरुलाई नेपाल सरकार समक्ष पु-याउन मद्दत गर्छ ।

सम्मेलनको आयोजक राष्ट्र थाइल्याण्डको लोभलाग्दो व्यवस्थापनका बीच भएको संघको एशिया क्षेत्रीय सम्मेलन स्थानीय मुद्दालाई सशक्त रुपमा उठाउन सफल भएका छ ।